Logo

बाढीपिडित भन्छन् : यो वर्षको दसैँ दशा बनेर गयो



देउखुरी, ३० असोज । लमही नगरपालिका–८ सतबरीयाका दुखीराम चौधरी शनिबार दिउँसो मलिन अनुहार लगाएर बाढीले बगाउन नसकेका घरपर रहेका सामान हेर्दै थिए । फुसले बारेर माटोले लिपेको चिसा भित्ता छाम्दै बाढीले बगाउन नसकेको सिरक, गद्दा अनि केही थान कपडा सङ्कलन गरिरहेको देख्दा त्यहाँ पुग्ने जोसुकैलाई पनि भावुक बनाउथ्यो । उनलाई पीडा कति छ भन्ने कुरा उनका आँखाबाट प्रष्ट देख्न सकिन्थ्यो ।

घरभित्र रहेको कागजपत्र सबै पानीले फिजेको छ । घर छेउकोे धान खेत सबै बगर बनेको छ । दसैँको अघिल्लो दिनदेखि लगातार पाँच दिनसम्म परेको वर्षाले उनको घरमा भएका सम्पूर्ण सामान भिजेका हुन् । “यो वर्षको दसैँ दशा बनेर आयो, विजोग बनायो, बाढी एकाएक आयो, घरमा भएका केही पनि बचाउने सकिएन, सबै बगाएर लग्यो”, उनले भने, “जिउमा लगाएका कपडा र केही थान भिजेका कपडा, सिरक डसनाबाहेक केही छैन ।” बाढीले घरका दक्षिण र पूर्वको भित्ता भत्किएको छ । बचेका भित्ता धुजाधुजा पारेको छ ।

लमही–७ हसनापुरका जयप्रकाश चौधरीको घरमा बाढी पस्दा ठूलो क्षति भएको छ । राप्ती नदीबाट आएको भेल र नजिकै बनाइएको बाँध फुटेर आएको बाढीले घर भत्काउनुका साथै खेतबारीमा लगाइएको अन्नबालीमा क्षति गरेको छ । घरमा खाने अन्न केही छैन, जीवनमा पहिलोपटक यस्तो घटना भएको बताए । उनले अहिलेसम्म पनि भत्किएको घरबाट सामान निकाल्ने आँट गर्न सकेको छैनन् ।

गढवा गाउँपालिका–२ महदेवाका रामलाल चौधरीले घरमा भएको अन्न लत्ताकपडा मात्रै नभई गोठमा बाँधिएका चौपाया समेत बगाएर लगेको बताए । उनको गोठ रित्तै छ । घरभित्रको सामान सबै भिज्यो, घर भित्र–बाहिर सबै ठाउँ पानी पानी भयो । छोराछोरीका किताब, विद्यालय पोसाक सबै पानीले बगायो ।

राजपुर गाउँपालिका–६ गङ्गदीकी रामकली चौधरीले पनि आफ्नो कच्ची घरमा बाढी पसेपछि केही बचाउन नसकेको बताए । धानले भरिएको डेहरी (माटोको भकारी) फुटेर धान बगाइदियो, धान कुटेको चामल पनि पानीमा डुब्यो । खानेकुरा केही नबचेपछि अहिले विद्यालयमा आएर पालिकाको शरण लिएको बताए । वर्षाका कारण आएको बाढीले देउखुरीका चार पालिकामा ठूलोमात्रामा भौतिक क्षति गरेको छ ।

नागरिक समाजको स्थलगत अनुगमन

बाढीका कारण भएको क्षतिबारे स्थलगत रुपमा पीडितका आवाज सुन्न र यथार्थ बस्तुस्थितिको जानकारी लिन समाजका जिल्ला संयोजक केबी मसालको नेतृत्वमा देउखुरीका चारवटै पालिकामा पुगेको छ । टोलीले ठूलो मात्रामा भौतिक क्षति व्यहोरेको निष्कर्ष निकालेको हो । समाजका अनुसार देउखुरीमा मात्रै १० हजारभन्दा बढी नागरिक प्रभावित हुनुका साथै अर्र्बौंको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।

वर्षाका कारण घर र खेतबारीमा बाढी पस्दा क्षति भएको छ दिन बितिसक्दा पनि स्थानीय पालिकाले अहिलेसम्म पीडितको लगत सङ्कलन गर्न नसकेको हुँदा उद्धारपछिको राहत सहयोगमा पनि ढिलाइ भएको नागरिक समाजले जनाएको छ । जिल्लाको लमही नगरपालिका, राप्ती, राजपुर र गढवा गाउँपालिकाका विभिन्न वडामा स्थलगत जानकारी लिनुका साथै पालिका स्तरबाट भइरहेको पछिल्लो प्रयासका बारेमा पनि समाजले चासो लिएको थियो ।

स्थानीय पालिका भन्छन्, तथ्याङ्क सङ्कलन गर्दैछाँै

लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले तथ्याङ्क सङ्कलनको काम भइरहेको बताए । प्रारम्भिक तथ्याङ्कमा दुई सय ६५ पूर्णरुपमा भत्किएका छन् । “पाकेर काट्न ठिक्क परेको धान डुवानमा परेको छ । दशैँ मानेर खेती स्याहार्ने तयारीमा रहेका किसानलाई बाढीले दुःखी बनाएको छ । सबै तथ्याङ्क सङ्कलन हुँदैछ”, उनले भने ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बाढी प्रभावित गाउँ कालापानी, पहरुवा, लठ्वा, सिङे, मझेरिया, भगवानपुर बगरापुरलगायतका दर्जनभन्दा बढी गाउँमा बाढी पसेको बताए । आफैँ पीडितको घरमा पुगेर राहतस्वरुप खाद्यान्न उपलब्ध गराइरहेको बताए । धेरै ठाउँमा क्षति भएकाले सङ्कलन गर्न समस्या भएको बताए । किसानको मुख्य स्रोत अन्नबालीमा क्षति पुगेकाले तत्कालका लागि खाद्यान्न वितरण गरे पनि दीर्घकालीन राहतका लागि तथ्याङ्क सङ्कलन गरिरहेको अध्यक्ष विष्टले बताए । राप्ती गाउँपालिकामा एक सय २० घर पूर्णरुपमा क्षति भएको छ । तथ्याङ्क सङ्कलनको कार्य जारी रहेकाले यो सङ्ख्या बढ्न सक्ने उनले बताए ।

राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले पालिका स्तरमा लगत सङ्कलनको काम भइरहेको बताए । उनले केही सामाजिक सङ्घसंस्थाको पहलमा अति आवश्यक भएकाहरुलाई केही सहयोग गर्नुबाहेक थप सहयोग गर्न नसकेको हुँदा माथिल्लो तहबाट सहयोगको अपेक्षा गरे । तत्काल खाने बस्ने व्यवस्था पालिकाले मिलाई गङ्गदी र जङ्ग्रहवा स्कुलमा बाढी पीडितलाई बसालिएको बताए । राजपुरमा तीन सय २५ घर पूर्णरुपमा भत्किएको प्रारम्भिक तथ्याङ्क रहेको अध्यक्ष बुढाथोकीले जानकारी दिए । उनले उद्धारपछिको राहत वितरण गर्ने स्रोतको समस्या भएको बताए ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले वडा नम्बर २ र ५ का बासिन्दा बाढीबाट सबैभन्दा बढी प्रभावित भएको बताए । सो पालिकाका दुई सय ५४ घर पूर्ण रुपमा क्षेति भएको हा । सो वडाका नागरिकको बस्ने खाने समस्या भएपछि तत्कालका लागि सामूहिक मेस चलाएको अध्यक्ष पोख्रेलले बताए । लोखरपुरुवाका ९५ जना, महदेवा र डाँडागाउँमा दुई सय जनालाई मेस चलाएर खाने व्यवस्था मिलाएको उनले बताए । बाढीका कारण प्रावि महदेवा र नमूना प्रावि पचहियाको भौतिक संरचना पूर्णरुपमा क्षति भएकाले पठनपाठन कसरी सञ्चालन गर्ने भन्ने समस्या थपिएको बताए ।

पालिकाका सबै वडामा कति घरपरिवार प्रभावित भएका छन् भन्नेबारे यकीन विवरण सङ्कलन भई नसकेको उनले बताए । प्रारम्भिक तथ्याङ्कमा छ सय ६० डुबानमा परेका र ८० घर भत्किएका छन् ।

तथ्याङ्क सङ्कलन गर्दै जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख खिलत गिरीले जिल्लाको राजपुर गाउँपालिकामा सबैभन्दा धेरै भौतिक क्षति हुँदा परिवार विस्थापित भएको बताए। लमही नगरपालिकामा दुई सय ६५, राजपुरमा तीन सय २५, गढवा गाउँपालिकामा दुई सय ५४, राप्ती गाउँपालिकामा एक सय २० घर पूर्णरुपमा क्षति भएको छ ।

देउखुरीको चार पालिकाको लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा मात्रै नौ सय ६४ घर पूर्ण रुपमा क्षति हुँदा त्यहाँ बस्दै आएका चार हजार बढी परिवारका सदस्य विस्थापित भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।

कृषि शाखाले लगत लिने काम गरेका छन् ः ज्ञान केन्द्र

पाकेर काट्न ठिक्क परेको धान डुबानमा पर्दा धानबाली नष्ट भएको छ तर कति क्षति भयो भन्ने विवरण अझै आइनपुगेको कृषि ज्ञान केन्द्र दाङका तथ्यांक अधिकृत पृथ्वीराज लामिछानेले बताए । उनले देउखुरी क्षेत्रमा बढी क्षति भएको जानकारी दिए । “देउखुरीका किसानले लगाएको धान बाली अलिबढी क्षति भएको अनुमान गरिएको छ”, उनले भने, “देउखुरीका चार पालिकासँग समन्वय भइरहेको छ तर कति क्षति भयो भन्ने यकीन विवरण प्राप्त भएको छैन ।”

दाङ जिल्लामा धान रोप्ने जमिन ३९ हजार चार सय हेक्टर क्षेत्रफल रहेकामा देउखुरीमा १२ हजार पाँच सय २८ र दाङ क्षेत्रमा २६ हजार आठ सय ७२ हेक्टर क्षेत्रफल छ । यसमा देउखुरीका सबै क्षेत्रफलमा धान रोपिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यो वर्ष समयमा वर्षा नभएका कारण जिल्लाभर सात प्रतिशत अर्थात् ३४ हजार दुई सय सात हेक्टरमा धान रोपाइँ भएको उनले बताए । रासस



प्रतिक्रिया दिनुहोस्