काठमाडौं, ३१ असोज। आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिधिनिसभा महोत्तरी क्षेत्र नम्बर १ बाट लगातार चुनाव जितिरहेका पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई यसपटक यातायात कार्यालयका पूर्व प्रमुख पोषण थापा चुनौती बनेका छन् । पोखरेलविरुद्ध उम्मेदवारी दिएर थापा चुनावी मैदानमा उत्रिएका छन् ।
थापा मधेश प्रदेश अन्तर्गतको यातायात कार्यालय बर्दिवासका प्रमुख पदबाट राजीनामा दिएर चुनावी मैदानमा छन् । उनले स्वतन्त्र उम्मेदवारी दिएसँगै पूर्व स्वास्थ्यमन्त्री पोखरेललाई यसपटक जित्नका लागि निकै भारी पर्ने देखिन्छ । २०६४ सालदेखि उक्त क्षेत्रबाट लगातार निर्वाचित पूर्व स्वास्थ्यमन्त्री पोखरेलको जितलाई यातायातका पूर्व हाकिम थापाले ब्रेक लगाइदिने सम्भावना बढेकोबारे चर्चा छ ।
महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा प्रल्हाद कुमार क्षेत्रीलाई निर्वाचित गराउने योजनाकारको रुपमा थापा नै चिनिन्छन् । अहिले उनै थापा पूर्व स्वास्थ्यमन्त्री पोखरेललाई हराएर प्रतिनिधिसभामा पुग्ने रणनीतिका साथ अगाडि बढेका छन् । सत्ता गठबन्धन र लोसपाका साझा उम्मेदवार माओवादी केन्द्रका नेता पोखरेललाई चुनौती दिने गरी बर्दिवास नगरपालिकाका मेयर क्षेत्रीको टिमले थापालाई राजीनामा गराएर मैदानमा खडा गरेको हो ।
कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेर बर्दिवास नगरपालिकाको मेयरमा निर्वाचित क्षेत्री आफूजस्तै थापालाई पनि चुनाव जिताउन दिनरात खटिएका छन् । आफूलाई मेयरमा निर्वाचित गराउन विशेष भूमिका खेल्ने थापालाई सांसद बनाउन उनको टिम सक्रिय भएको छ ।
पूर्व स्वास्थ्यमन्त्रीहरुमा पोखरेलले यसपटक चुनाव जित्न निकै कसरत गर्नु पर्ने अवस्था आएको छ । चापाकल लिएर चुनावी मैदानमा खडा भएको थापा पोखरेललाई पराजित गर्ने योजनाका साथ चुनावी प्रचार(प्रसारमा लागेका छन् । पटकपटक स्वास्थ्य र शिक्षामन्त्री बनेका पोखरेललाई बर्दिवासमा सरकारी मेडिकल कलेज स्थापना गर्न नसकेको आरोप लाग्दै आएको छ ।