काठमाडौँ,१ कार्तिक । धादिङमा अन्तरपालिकास्तरीय टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्लाभित्रका स्थानीय सरकारको सहयोगमा धादिङ जिल्ला क्रिकेट सङ्घले प्रतियोगिताको आयोजना गरेको हो ।
सोमबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ब्याटिङ र बेनिघाट रोराङ गाउँँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बलिङ गर्दै खेलको उद्घाटन गरे । सो–म्याचमा स्थानीयतह र क्रिकेट सङ्घका पदाधिकारी पनि सहभागी थिए ।
प्रतियोगितामा जिल्लाभरका आठ पालिकाबाट टिम सहभागी छन् । बेनिघाट रोराङ गाउँँपालिकाको विशालटारस्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा गजुरी गाउँँपालिका र खनियाबास गाउँँपालिकाले ‘ओपनिङ’ खेल खेलेका छन् ।
धादिङमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको यो तेश्रो पटक हो । स्थानीयस्तरमै खेलाडी उत्पादन गर्ने र क्रिकेट खेलमार्फत धादिङलाई देश विदेशमा चिनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको धादिङ क्रिकेट सङ्घका अध्यक्ष दिपेश कँडेलले बताए । रासस