Logo

रोल्पाका ग्रामिण सडक अझै खुल्न सकेनन्



काठमाडौँ,१ कार्तिक । रोल्पाका ग्रामिण भेगका सडक अझै खुल्न सकेका छैनन् । वर्षायाम् सुरु भएसँगै अवरुद्ध भएको अधिकांश सडक खुलेका छैनन । सडकको माथी र मुनीबाट पहिरो खसेपछि स्थानीयलाई हिडडुल गर्न समस्या भएको छ ।

पहिरोका कारण हिडडुल गर्न समस्या भएको रोल्पा नगरपालिकाका–९का दलबहादुर खत्रीले बताए । “वर्षामा आएको पानीले पुरै बाटो बिग्रेर ठप्प छ”, खत्रीले भने । पहिरो नखसेको ठाउँसमेतमा सडक चिरा चिरा परेर आवातजावतमा कठिनाई भएको बताइएको छ ।

सडकमा पहिरो खसेकाले दसैं मनाउन घर जाँदा सारै सास्ती भोग्नुपरेको परिवर्तन गाउँपालिकाका लोकेन्द्र चन्दले दुखेसो पोखे । “धेरैजसो ठाउँमा सडक अवरुद्ध छ सबै हिडेर जानुपर्ने बाध्यता छ”,चन्दले भने। जिल्लाको सदरमुकाम लिवाङसँग सबै वडा सडक सञ्जालसँग जोडिएको भएतापनि मापदण्ड विपरीत खनिएका सडकमा पहिरो खसेपछि अवरुद्ध भएका हुन् ।

सम्वन्धित निकायले ध्यान नदिँदा यात्रु भएपनि सवारी चलाउन मुस्कील भएको यातायात व्यवसायीले गुनासो गरेका छन् । मापदण्ड विपरीतका सडक खन्दा वर्षायाममा बाढी पहिरो जाने गरेको स्थानीयको भनाइ रहेको छ । वर्षा सकिएर चाडबाडको समय सुरु भएपनि गाउँँगाउँँ पुग्ने सडक नखुल्दा स्थानीयले सास्ती खेप्नुपरेको छ ।

रोल्पाको सदरमुकाम लिवाङदेखि सहिद मार्ग हुँदै थवाङ जाने सडक खण्ड र सनिलस्मृति गाउँपालिकाको सुलिचौर हुँदै सुनछहरी गाउँपालिका जाने सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । एक नगरपालिका र नौ गाउँँपालिका रहेको रोल्पामा ७२ वडा रहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्