काठमाडौं, कात्तिक २ । ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभरि एकै चरणमा हुँदै छ । उम्मेदवारी दर्तापश्चात् राजनीतिक दल तथा उम्मेदवार अहिले घरदैलो, सभा, बैठक, भेलालगायतका कार्यक्रममा व्यस्त छन् ।
प्रतिनिधिसभाको १ सय ६५ र प्रदेश सभाका ३ सय ३० सिटका लागि प्रतिस्पर्धा हुँदै छ । निर्वाचनका लागि ५ हजार बढी उम्मेदवार चुनावी दौडमा रहेका छन् । तीमध्ये ४ सय ९५ जना चयन हुनेछन् । निर्वाचन मुख्यतः दुई गठबन्धनसहित स्वतन्त्र उम्मेदवारबीच देशैभरि प्रतिस्पर्धा छ ।
वाम लोकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् । अर्कोतर्फ नेपाल कम्युनिस्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी नेपाल (जसपा), राप्रपा, राप्रपा नेपालसहितका दलहरूको तालमेल रहेको छ ।
यी दुई गठबन्धनधारी र तालमेलधारीसहित स्वतन्त्र तथा कुनै पनि गठबन्धनमा नरहेका दलका उम्मेदवारबीच प्रतिस्पर्धा छ । तर, एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीका उम्मेदवारको एमालेसँगै प्रतिस्पर्धा छ ।
वामलोकतान्त्रिक गठबन्धनमा रहेको एकीकृत समाजवादीले प्रतिनिधिसभाको १ सय ६५ सिटमा पाएको २० सिटमध्ये १९ ठाउँमा एमालेसँगै प्रतिस्पर्धा रहेको आजको राजधानी दैनिकमा खवर छ ।