Logo

उपेन्द्र यादवलाई सीके राउतको कटाक्ष- केपी ओलीलाई काँधमा बोकेर कुन मुखले भोट माग्ने ?



काठमाडौं, २ कात्तिक । जनमत पार्टीका अध्यक्ष एवं सप्तरी २ का उम्मेदवार सीके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफूसँग बस्न डराइरहेको बताएका छन् । ‘उपेन्द्र यादवसँग मेरो व्यक्तिगत द्वन्द्व छैन । तर उहाँ मसँग बस्न डराइरहनुभएको छ । मधेसी जनतालाई विश्वासघात गरेकाले उपेन्द्र यादव लुकीलुकी अन्तर्वार्ता दिइरहनुभएको छ । उहाँलाई जनताले घरदैलो पनि गर्न नदिने स्थिति छ । अर्का उम्मेदवार जयप्रकाश यादवलाई यहाँ कसैले चिन्दैनन् । गठबन्धन गर्दैमा जनताले भोट दिन्छन् र ? दसवटा श्याल मिल्दैमा सिंहको सिकार गर्न सक्छन् र ?’ रिपोर्टर्स नेपाल डट कम, प्राइम टाइम्स टेलिभिजन, दिव्यदर्शन टेलिभिजन र नेपाली रेडियो नेटवर्क (एनआरएन) को संयुक्त निर्वाचन बहस ‘मंसिर ४ महासंग्राम’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै राउतले भने ।

केपी शर्मा ओली र शेरबहादुर देउवासँग गठबन्धन गर्ने दलहरु यसपटक मधेसमा बढारिने दाबी पनि राउतले गरे । उनले भने, ‘मैले दिनरात जनताको बीचमा बसेर सुसूचित गरिरहेको छु । मधेसमा अपवित्र गठबन्धन गर्ने पुराना दलहरु अब बढारिन्छन् । मलेठमा पाँच जनाले सहादत पाउँदा केपी ओलीले दुईचारवटा आँप झर्दैमा केही हुँदैन भनेका होइनन् ? गोली चलाउने ओलीलाई मधेस छिराउने को हो ? ओलीलाई काँधमा बोकेर उपेन्द्र यादवले कुन मुखले भोट माग्छन् ?’

जनमत पार्टी मधेसी जनताको आखिरी आशा भएको पनि उनले बताए । राउतले थपे, ‘लुटेराहरुबीच पहिचान मिल्छ । नाम जे सुकै भए पनि उनीहरुबीच तात्विक भिन्नता हुँदैनन् । अब जनमत पार्टीले मात्र घरघरमा विकास र रोजगारी दिन सक्छ भन्ने सप्तरीबासीले बुझिसकेका छन् । जनमत पार्टी मधेसी जनताको आखिरी आशा हो । उनीहरु परास्त भएर जाने छन् ।’



प्रतिक्रिया दिनुहोस्