Logo

मेरो प्रतिस्पर्धी हितबहादुर होइनन्, बद्री मैनाली हुन् –नेता गुरुङ (भिडियोसहित)



‘मैले निश्चित रुपले चुनाव जित्छु’
काठमाडौं, ३ कात्तिक । नेपाली कांग्रेस बिपी नुवाकोट जिल्ला सभापति एवं प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्याम बहादुर गुरुङले आफूले चुनाव जित्ने बताएका छन् ।

नुवाकोट–१ बाट आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनेका गुरुङले आफू र आफ्नो पार्टी चुनाव जित्ने तयारीका साथ चुनावमा होमिएको दाबी गरे ।

रिपोर्टर्स नेपाल युट्युब च्यानलबाट प्रशारण भएको कार्यक्रम ‘वैचारिक मन्थन’मा पत्रकार सचिना बानियाँसँग कुरा गर्दै आगामी निर्वाचनमा अन्य कुनै दलसँग चुनावी तालमेल नगर्ने स्पष्ट पारे । उनले भने,‘हामी कसैसँग तालमेल गरेर चुनाव लड्दैनौ, किनभने हामी प्रजातन्त्रवादी हौं । बिपि कोइरालाको हामी सच्चा सिपाइ हौं ।’उनले आफ्नो क्षेत्रमा कांग्रेसको अन्तन्तै बहुमत रहेको उल्लेख गर्दै सच्चा कांग्रेसीहरुले आफूलाई भोट दिने बताए ।

कांग्रेसले माओवादीको उम्मेदवारलाई समर्थन गरेपनि विचारको दृष्टिले ‘करुवा’ चिन्हमा भोट आफूलाई दिनुपर्ने उनको भनाइ थियो । गुरुङले देश बचाउन, नमुना नुवाकोट बनाउन यसपालि बिपी कांग्रेसले ल्याएको नयाँ अनुहारलाई त्यहाँका जनताले भोट दिनेमा आफू ढुक्क रहेको सुनाए ।

उनले भने,‘मैले निश्चित रुपले चुनाव जित्छु ।’आफ्नो प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार बद्री मैनालीसँग हुने बताउदै उनले भने,‘गत २०७४ सालको चुनावमा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले एमालेसँगको सहकार्यमा जित्नुभएको हो, त्यतिबेला उहाँलाई एमालेले सघाएको हो, त्यस्तो समयमा कांग्रेस एक्लैलाई २८ हजार मत आएको थियो । एमालेले २२ हजार मत पाएको थियो, १६ हजार मत माओवादीको थियो, २ हजार राप्रपाले पाएको थियो । तर आजको दिनमा माओवादी र एमाले फुटेको अवस्था छ । सच्चा कांग्रेसीले तामाङलाई भोटै दिदैनन् ।’ कांग्रेससँग गठबन्धन नै नगरी पुराना कांग्रेसीहरुले बिपी कांग्रेसको उम्मेदवारलाई मत दिने उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्