काठमाडौं, ३ कार्तिक । नेकपा (एमाले) का सचिव एवम् पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई कसैले पनि हराउन नसक्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको लागि धनुषा ४ बाट उम्मेदवारसमेत रहेका नेता महासेठले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्वमा गरेको काम देखेर सिंगो मधेश र मधेशी जनता एमालेको पक्षमा उर्लिएको बताए ।
आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आज मधेशी जनतालाई एमाले नभई नहुने अवस्था सिर्जना भएको सुनाए । उनले पाँच दलीय गठबन्धन एमाले देखेर डराएको आरोप लगाए । उनले आफूले निर्वाचन जित्ने पनि दाबी गरे ।
विगतदेखि वर्तमानसम्म कांग्रेस धेरै पटक सत्ताको नेतृत्वमा पुगेपनि देश र जनताको लागि राम्रो काम नगरेको उनको आरोप थियो । उनले आफ्नो पार्टीको नेतृत्वको सरकारले गरेको राम्रो कामले नै आज देशव्यापी रुपमा एमालेको पक्षमा राम्रो माहोल रहेको स्पष्ट पारे । महासेठले आफ्नो क्षेत्रका जनताले सूर्य चिन्हबाहेक अरुलाई अस्विकार गर्ने जिकिर गरे । उनले एमाले विभाजन गरेर गएपनि देशव्यापी रुपमा माधव नेपाल नेतृत्वको दलको देशव्यापी रुपमा औचित्य नभएको दाबी गरे ।