दाङ, कात्तिक ४ । २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भयो। जसका कारण प्रतिनिधिसभा सदस्यका लागि दाङ–२ मा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा उम्मेदवार बने।
सोही क्षेत्रमा उठ्न चाहेका एमाले नेता शंकर पोखरेल दाङ–२ (क) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार भए। त्यतिबेला माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार बनेकी रेखा शर्माका लागि पनि अझ बढी जिम्मेवारी थपियो। आफ्नैे दलका उम्मेदवारसँग एमाले नेता पोखरेलको जितका लागि उनले चर्को रूपमा चुनावी दौडधुप गर्नुप¥यो। शर्मा भन्छिन्, ‘पार्टी एकताको प्रारम्भिक चरणका रूपमा भएको चुनावी तालमेललाई सफल पार्नुपर्ने दायित्व मेरो पनि थियो, फेरि म त्यतिबेला आफैं उम्मेदवार पनि थिएँ।’
निर्वाचनपछि पोखरेल र शर्मा एकै दलका सहकर्मीसमेत बने। माओवादी केन्द्र र एमालेबीच पार्टी एकता भएर बनेको नेकपामा शर्मा केन्द्रीय सदस्य बनिन् भने पोखरेल स्थायी कमिटी सदस्य भए। पार्टीलाई मजबुत बनाउन आपसी सरसल्लाह गर्दै योजना निर्माणबारे आन्तरिक छलफल हुने नै भए। ‘त्यतिबेला हामीबीच पार्टीलाई मजबुत बनाउन सरसल्लाह, योजना बनाउनेसम्मका विषयमा सहकार्य हुन्थ्यो,’ शर्मा भन्छिन्, ‘हामी एकै जिल्लाका नेता भएकाले पनि त्यसो गर्नु अनिवार्य थियो।’
२०७४ सालको निर्वाचनमा एकअर्काको चुनावी सहयात्री बनेर विजयको माला पहिरिएका पोखरेल र शर्मा अहिले भने प्रतिस्पर्धी बनेका छन्। उनीहरू आगामी निर्वाचनमा दाङ–२ बाट प्रतिनिधिसभा सदस्यका लागि लड्दैछन्। शर्मा सत्तारूढ गठबन्धनको बलमा पुराना सहकर्मी पोखरेललाई हराउने योजनामुताबिक मैदानमा उत्रिएकी छन् भने पोखरेल एकल बलबुताकै भरमा निर्वाचन जित्नुपर्ने दबाबमा छन्। नागरिक दैनिकबाट