Logo

कमला पुल प्रकरणमा धनुषा २ का उम्मेदवार रामचन्द्र झा र उमाशंकर अरगरियाबीच विवाद बढेपछि ऋषि धमलालाई आपत्



काठमाडौं, ४ कात्तिक । हुलाकी राजमार्ग अन्तर्गत धनुषा–सिराहा जोड्ने कमला नदीको पुल शिलान्यास भयो, २०६९ सालमा । ४२ महिनामा निर्माण हुनुपर्ने पुल झन्डै १० वर्षपछि बल्लतल्ल पूरा भएको थियो । तर गलत डिजाइनका कारण सञ्चालन नहुँदै २०७८ असार १७ बिहानको बाढीले पुलको सिराहाको बासपिट्टातर्फको एउटा पिल्लर भासियो । त्यसको चार महिनापछि धनुषातर्फको अर्को पिल्लर पनि भासियो ।

चार सय ७० मिटर लामो पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का लिएको थियो । सुरुमा पप्पुले मात्र काम गर्‍यो । करिब ३५ प्रतिशत काम सकेपछि लुम्बिनी बिल्डर्सले बाँकी काम गरेको थियो ।

हुलाकी राजमार्गको मेरुदण्डको रुपमा रहेको पुल भासिएको १५ महिनापछि यो प्रकरण धनुषा-२ को चुनावी मुद्दाका रुपमा उठेको छ । रिपोर्टर्स नेपाल डट कम, प्राइम टाइम्स टेलिभिजन, दिव्यदर्शन टेलिभिजन र नेपाली रेडियो नेटवर्क (एनआरएन) को संयुक्त निर्वाचन बहस ‘मंसिर ४ महासंग्राम’ मा धनुषा २ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामचन्द्र झा र निवर्तमान सांसद एवं नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाबीच विवाद नै भयो । दर्शकहरु होहल्लामा उत्रिए । पत्रकार ऋषि धमलालाई फकाउन पनि हम्मेहम्मे पर्‍यो ।

एमालेका उम्मेदवार अरगरियाले पुलको ठेक्कामा सांसदले कमिसनका खाएका कारण पुल भासिएको आरोप लगाएपछि अर्का उम्मेदवार झा जंगिए । उनले भने, ‘यो पुल शिलान्यास हुँदा मेरो सांसदको कार्यालय सकिइसकेको थियो । यसको दोष मैले नभएर डिजाइन राम्रो गर्न नसक्नेले लिनुपर्छ । रामचन्द्र झालाई कमिसन खायो भन्ने ताकत कसको छ ?’

झाले थपे,’म ४५ वर्षदेखि राजनीतिमा छु । हुलाकी राजमार्गको पुल समयमा बन्न पनि सकेन । गुणस्तरीय हुन पनि सकेन । गुणस्तर कमसल भएर खम्बा भत्किएको हो । हरेक ठेकेदारको राजनीतिक पार्टीमा घुसपैठ छ । पप्पु कन्स्ट्रक्सनको मालिक हरिनारायण रौनियार जसपाकै नेता र सांसद थिए । डिजाइन संशोधन गराउन नसक्नु मपछिका सांसदको दोष हो ।’

एमाले उम्मेदवार अरगरियाले आफ्नो इमानदारीमा शंका नगर्न आग्रह गरे । उनले भने, ‘हो, विगतमा जसपाको सांसद थिएँ । तर समानुपातिक सांसदको टिकट १८ भोट पनि नल्याउने राजेन्द्र श्रेष्ठ, लीला सिटौला, रेणुका गुरुङलाई बेचियो । बेइमानसँग टिक्न नसकेर पार्टी छाडिदिएँ । ४० वर्षमा हुन नसकेको काम पाँच वर्षमा गरेको छु । मेरो इमानदारीमा शंका नगरियोस् । कसैले भ्रष्टाचार गरेको पुष्टि गर्छ भने म आफ्नो जिउमा आफैं आगो लगाउन तयार छु ।’



प्रतिक्रिया दिनुहोस्