काठमाडौं, ५ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाहीको विकासका लागि आफूले धनुषा ३ छाडेको बताएका छन् ।
‘म आफ्नो गृहजिल्लामा आएको हो । म कुनै टुरिस्ट उम्मेदवार होइन । २०७४ मा मधेसी गठबन्धन थियो । बहालवाला सांसद महेन्द्र यादवलाई छाडेर म जनताको माग अनुसार धनुषा ३ मा गएँ । विमलेन्द्र निधिलाई हराएँ । १० वर्षसम्म म सर्लाहीमा नभएको यहाँ विकास भएन र सर्लाही २ फर्किएँ,’ रिपोर्टर्स नेपाल डट कम, प्राइम टाइम्स टेलिभिजन, दिव्यदर्शन टेलिभिजन र नेपाली रेडियो नेटवर्क (एनआरएन) को संयुक्त निर्वाचन बहस ‘मंसिर ४ महासंग्राम’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महतोले भने ।
सर्लाही-२ का जनताले यस पटक विकासको एजेन्डा उठाएको पनि उनले बताए । महतोले थपे, ‘मधेसका अधिकांश जिल्लामा हुलाकी सडक बनिसक्यो । तर यहाँको सुरु भएको छैन । म १० वर्ष यहाँ नहुँदा जनतालाई चिन्तित र आक्रोशित पाएँ । यहाँ विकासको एजेन्डा कहिल्यै बनेन । जातीय कुरा गरेर ठगी भयो । मैले अधिकार, पहिचान र विकासको एजेन्डा उठाएको छु ।’
आफ्ना माग र मुद्दाका लागि केपी शर्मा ओलीको सरकारमा सामेल भएको पनि उनको दाबी छ । महतोले भने, ‘म सरकारमा गएको वा उपप्रधानमन्त्री भएको पनि माग र मुद्दाका लागि हो । हामी आफैं सरकार बनाउन सक्दैनौं, जो प्रधानमन्त्री छ उसको घाँटी समातेर गराउने काम गराउनुपथ्र्यो । हामीले माने पनि नमाने पनि एमाले देशको पार्टी हो, ठूलो पार्टी हो । नागरिकता अध्यादेश जारी गराउन सफल पनि भयौं । तर सरकारमा १८ दिन मात्र रहन पायौं ।’
केपी शर्मा ओली मात्र नभएर पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा पनि प्रतिगामी भएको आरोप पनि उनले लगाए । महतोले भने, ‘प्रतिगमन त संविधान बनाउँदा नै मधेसको अधिकार छिनेर ओली, देउवा र प्रचण्ड मिलेर गरेका हुन् । प्रतिगमन त यिनीहरुको धन्दा नै हो । ओलीले गरेको त प्रतिगमनमाथिको थप प्रतिगमन मात्र हो ।’ आफ्नो माग र मुद्दाका लागि बालुवाटार, बालकोट, सिंहदरबार धाउनु परेको पनि उनको स्पष्टोक्ति छ ।