Logo

सयपत्री: एउटा फूलको चार रुपैयाँ



तनहुँ, कात्तिक ६ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गरिन। तिहारका समयमा उनलाई मागअनुसारको फूल पु¥याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उनमा त्यही बेला अब व्यावसायिकरूपमा फूलखेती गर्छु भन्ने सोच पलायो ।

“गत वर्ष उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पु¥याउन सकिनँ, तिहारका बेला फूलको धेरै माग हुन्छ”, उनले भनिन् “माग बढी भएपछि यस वर्ष भने दुई रोपनी क्षेत्रफलमा फूल लगाएको छु ।”

उनले आफ्नै निजी दुई रोपनी जग्गामा यो वर्ष व्यावसायिकरूपमा सयपत्री फूलखेती गरेकी छन् । विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने उनले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताईन् ।

“हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो”, उनले भनिन्, “फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूलखेती गरेको हुँ ।”

फूलमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले कृषकलाई सहयोग गर्ने नीति ल्याउनुपर्ने श्रेष्ठको माग छ । “गाउँघरमा जग्गा बाँझै छन्, त्यस्ता जग्गालाई सदुपयोग गर्दै फूलखेती गर्नेतर्फ सरकारले सहयोग गर्नुपर्छ”, उनले बताईन् ।

तिहारका बेला फूलको माग बढी हुने गरेको र पु¥याउन मुस्किल पर्ने श्रेष्ठको अनुभव छ । “तिहार सुरु हुन लागिसक्यो, अब माग आउन थाल्छ, तिहारका लागि बजारको समस्या छैन”, श्रेष्ठले भनिन्, “तिहार सकिएपछि पनि यसको बजारका लागि समस्या छ ।”

गाउँघरमा हुने सहकारीका कार्यक्रम, अन्य सङ्घसंस्थाका कार्यक्रममा माला बिक्री हुने गरेको छ । “यो वर्ष तिहार छिटो परेकाले फूल उत्पादन हुनै बाँकी छ, तिहारमा समस्या हुँदैन, तिहारपछि भने फूलको बजार खोज्नुपर्ने अवस्था छ”, किसान श्रेष्ठको भनाई छ।

प्रतिथुङ्गा रु चारमा फूल बिक्री गर्दै आएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्