Logo

केपी ओली नेतृत्वको गठबन्धनको कुनै धरातल नभएको बाबुराम भट्टराईको दाबी



काठमाडौं, ७ कार्तिक । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले जनताले लडेर ल्याएको लोकतन्त्रको रक्षा गर्दै सुशासन र समृद्धिको दिशामा मुलुकलाई अगाडि बढाउनका लागि वर्तमान वाम लोकतान्त्रिक गठबन्धन बनेको स्पष्ट पारेका छन् ।

डा भट्टराईले वाम लोकतान्त्रिक गठबन्धनको वाग्मती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज (सोमबार) राष्ट्रियसभा गृहमा सम्बोधन गर्दै एउटा आधार र राजनीतिक लक्ष्यसहित गठबन्धन तयार भएकाले कुनै दुविधा राख्न नहुने बताएका हुन् ।

सुशासन र समृद्धिसहित अगाडि बढ्ने लक्ष्यका साथ आफूहरु अगाडि बढेको उल्लेख गर्दै उनले राजनीतिक परिवर्तनपछि स्थापना भएका संस्थालाई बलियो बनाउँदै भ्रष्टाचारको अन्त्य गर्ने लक्ष्य राखिएको स्पष्ट पारे ।

विकासको नयाँ मोडल तयार पार्नुपर्छ भन्ने विषयमा गठबन्धनका बीचमा साझा सहमति रहेको जानकारी दिँदै उनले आर्थिक, सामाजिक र राजनीतिक विषयमा साझा मत समेत बनाइएको बताए।

आफूहरु सहभागी रहेको गठबन्धन अग्रगामी र जनपक्षीय रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले अर्को गठबन्धनको कुनै धरातल नरहेको स्पष्ट पारे । विगतका तितामिठा कुरालाई बिर्सेर गठबन्धनको साझा मुद्दालाई लिएर अगाडि बढ्न सबैको ध्यानकर्षण उनले गराए । कुनै पनि विषयमा असहमति रहेपनि त्यसलाई थाती राखेर गठबन्धनका साझा उम्मेदवार र चिन्हलाई आफ्नै ठानेर मतदान गर्न पूर्वप्रधानमन्त्री डा भट्टराईले आग्रह गरे ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot