Logo

स्वतन्त्र सञ्जालको सक्रियतामा देशभर क्रस खुकुरी लिने प्रतिनिधि सभाका ६५ उम्मेदवार एकढिक्का



काठमाडौं, ७ कात्तिक । देशभर क्रस खुकुरी चुनाव चिन्ह लिएर प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका ६५ जना एकढिक्का भएका छन् । नेपाल स्वतन्त्र नागरिक सञ्जालको संयोजनमा उनीहरु एकढिक्का हुँदै क्रस खुकुरी चिन्ह लिएकाहरुले एक अर्कालाई सघाउने सहमति समेत गरेका छन् । सञ्जालले थप क्षेत्रमा उम्मेदवार बनेकाहरुलाई समेत एकढिक्का बनाउन निरन्तर पहल गरिरहेको जनाएको छ । स्वतन्त्रका सशक्त उम्मेदवारमध्ये माछा, सुई, पुतली, कलधारो, घण्टाघरलगायत चिन्ह लिएका पनि सञ्जालको संयोजनमा आवद्ध भएका छन् ।

स्वतन्त्र उम्मेदवारहरुको परिचयात्मक तथा शुभकामना आदानप्रदान आयोजना गरेर सञ्जालका सयोजक दिनेश सुवेदीले यसबारे जानकारी दिएका हुन् । उनका अनुसार स्वतन्त्रका अधिकांश उम्मेदवारहरु क्रस खुकुरी चिन्ह लिएर प्रतिष्पर्धा गर्दैछन् । काठमाडौं, ललितपुरलगायत देशभर सञ्जालका तर्फबाट उम्मेदवार खडा भएका छन् ।

सुवेदीले देशमा सही व्यवस्था नहुँदा अराजकता बढेकाले जनतामा निराशा हुँदै आक्रोश जन्मिएको बताए । राजनीतिक आन्दोलन नै अपूरो भएको र जनताको अधिकार नेताहरुले हरण गरेको आरोप लगाए । देशमा राजनीतिक आन्दोलन पूरा हुनुपर्नेमा जोड दिदै संसदमा सही र सक्षम मात्र पुग्ने परिस्थिति निर्माण हुनुपर्ने बताए । स्वतन्त्रले मात्र सही काम गर्न सक्ने तर्क गरे । कसैको बहुमत नआउने राजनीतिक प्रणाली घातकसिद्ध भएको बताए । समानुपातिक प्रणाली खारेज नगरे देश अस्थिरतामा परिरहने, सक्षम व्यक्ति पाखा लगाएर नातावाद, कृपावाद र धनवाद हावी भइरहने बताए । देशभर ६५ जना प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सञ्जालका तर्फबाट उम्मेदवार रहेको जानकारी दिदै ठूलो धक्का दिने बताए ।

पूर्वडिआइजी गणेश केसीले स्वतन्त्रहरुले देशमा रहेको बेथिती र विसंगतिविरुद्ध जोडदार धक्काको प्रारम्भ गरेको बताए । स्वतन्त्र विचारको अभियान कुनै हालतमा रोकिन नहुनेमा उनको जोड थियो । उनले विचलित नभई स्वतन्त्र अभियान अगाडि बढाउन सुझाव दिए । चल्तीका दलहरुले गरेका गलत व्यवहारका कारण परिवर्तनको लहर नै चलेको बताए ।

दाङ क्षेत्र नं ३ बाट क्रस खुकुरी चिन्हका स्वतन्त्र उम्मेदवार हेमन्तबहादुर मल्लले समानुपातिक निर्वाचन प्रणालीमा उम्मेदवार बन्नेहरुको ज्यानकै खतरा हुने गरेको तर्क गरे । समानुपातिकमा क्लस्टरमा तल परेकाहरुको पनि सांसद बन्ने सम्भावना जिवितै रहने हुँदा माथि परेर निर्वाचित भएकाहरु असुरक्षित हुने खतरा रहेको बताए । मल्लले नेपालमा परिवर्तनको विकल्प नभएको भन्दै आर्थिक, सामाजिकसहितको गौरवमय क्रान्ति अनिवार्य भएको बताए । संसदीय व्यवस्थाको विकृत समानुपातिक निर्वाचन प्रणाली खारेज हुनुपर्ने जिकिर गरे । मल्लले २०७२ को संविधान अझै अनुमोदन नभइसकेको तर्क गरे । संविधान राष्ट्रपति विद्यादेवी भण्डारीले समेत नमानेकाले यसको औचित्यमाथि प्रश्न गरे ।

ललितपुर क्षेत्र नं २ बाट क्रस खुकुरी चिन्हका स्वतन्त्र उम्मेदवार डा. दीपेश केसीले दलहरुसँग मत माग्ने आधार समेत बाँकी नरहेको बताए । उनले स्वतन्त्र विचार सशक्त रुपमा बढिसकेकाले कसैले रोक्न नसक्ने बताए । देशको धर्म, संस्कृति, परम्परा र रीतिरिवाजमाथि आक्रमण भइरहेकाले बेलैमा सचेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा ललितपुर ३ का उम्मेदवार जेसन वैद्यले दलका नेताहरुले अति गर्दा ठूलै क्रान्ति हुन लागेको बताए । स्वतन्त्र अभियानलाई क्रान्तिको सुरुवात भन्दै देश नयाँ मार्गमा जान लागेको बताए ।

ललितपुर १ का उम्मेदवार गोविन्द घिमिरेले स्वतन्त्र अभियानलाई कसैले रोक्न नसक्ने बताए । उनले देशमा युवाहरुले नयाँ आन्दोलनको सुरुवात गरेको बताए ।

काठमाडौं ६ का उम्मेदवार इन्जिनियर दीपु उप्रेतीले स्वतन्त्र उम्मेदवारहरुको लहर नै आइसकेको बताए । चुनावमा आविष्कार केन्द्र स्थापनाको एजेन्डा लिएर गएको बताए ।

काठमाडौं ८ का दिपक खनालले स्वतन्त्र विचारले देशमा नयाँ माहोल सृजना गरेको बताए । उनले प्राकृतिक स्वास्थ्य निःशुल्क बनाउने आफ्नो एजेन्डा रहेको बताए ।

सञ्जालका सदस्य निरञ्जनदेव थापाले देशभर स्वतन्त्र उम्मेदवारहरु नयाँ मिसन र भिजनका साथ आएको बताए । उनले स्वतन्त्र अभियान सशक्त रुपमा बढिसकेकोले नरोकिने बताए ।

मोतेश्वर टोल सुधार समितिका अध्यक्ष मोहन केसीले राजनीति गर्ने व्यक्ति सेवा भावनाले ओतप्रोत हुनुपर्ने बताए । उनले साना साना विकासमा पनि चुनाव जित्नेहरुले बेवास्ता गर्ने गरेको बताए ।

समाजसेवी सानोभाई सुवेदीले उम्मेदवारहरुलाई शुभकामना दिदै सधै देश र जनताको सेवामा समर्पित हुन सुझाव दिए । उनले काम गर्नेलाई कुनै कुराले नछेक्ने बताए ।

कार्यक्रम सञ्चालक सुमन केसीले स्वतन्त्र उम्मेदवारहरुलाई जीतको शुभकामना दिए । उनले स्वतन्त्र अभियान सशक्त रुपमा अगाडि बढ्ने बताए ।

      

 



प्रतिक्रिया दिनुहोस्