Logo

मुस्ताङमा सुस्त चुनावी गतिविधि



गलेश्वर ८ कात्तिक (रासस) : छर्लङ्गै खुलेको छ मौसम । चारैतिर सेता हिमाल मुसुक्क मुस्कुराइरहेका छन् । सेता हिमाल हेर्दै प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र मुस्ताङका होटल व्यवसायीको न्यानो आतिथ्यतामा रमाइरहेका आन्तरिक तथा बाह्य पर्यटकको रौनक बढेको मुस्ताङमा अबको २६ दिनपछि हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको गतिविधि भने सुस्त छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा राजनीतिक दलले चुनावी गतिविधि सञ्चालन गरीसकेका छैनन् । “चुनाव आइसक्यो,तर कुनै पनि दलका उम्मेदवार भोट माग्न आएका छैनन्, न त आफ्ना एजेण्डा नै हामीलाई बताएका छन्”, मुस्ताङको सदरमुकाम जोमसोमस्थित होटल मुस्ताङ ताजका सञ्चालक योगेश शेरचनले बताउनुभयो । मुस्ताङमा दुई स्वतन्त्र उम्मेदवारसहित १३ जनाले मनोनयपत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले जनाएको छ ।

प्रतिनिधिसभातर्फ पाँच राजनीतिक पार्टीका पाँच र दुई स्वतन्त्र उम्मेदवार छन् । प्रदेशतर्फ चार राजनीतिक पार्टीका छ जनाले मनोनयनपत्र दर्ता गरेको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभातर्फ एमालेबाट पूर्वसांसद प्रेमप्रसाद तुलाचन,कांग्रेससहितको गठबन्धनबाट योगेश गौचन थकाली, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुदेश गुरुङ, राप्रपाबाट मानबहादुर विक र राप्रपा नेपालबाट प्रवीण शेरचनले उम्मेदवारी दिनुभएको छ । प्रदेशतर्फ एमालेबाट क्षेत्र इन्द्रधारा विष्ट र चन्द्रमोहन गौचन, कांग्रेससहितको गठबन्धनबाट विकल शेरचन र नाम्डु गुरुङ, राप्रपाबाट जेम्स हिराचन र राप्रपा नेपालबाट कर्मा डोल्कर गुरुङ उम्मेदवार हुनुहुन्छ ।

प्रतिनिधिसभामा स्वतन्त्रबाट डा सुरेन्द्र शेरचन र सुरज लालचन उम्मेदवार हुनुहुन्छ । प्रदेशतर्फ कुनै पनि स्वतन्त्र उम्मेदवारी परेको छैन । मुस्ताङमा कुनै किसिमका चुनाव लक्षित गतिविधि सञ्चालन नभएका मार्फाका देवेन्द्र शेरचनले बताउनुभयो । “अहिलेसम्म मुस्ताङलाई चुनावी गतिविधिले छोएको छैन, हाम्रो पार्टी सभापति र प्रतिनिधिसभाका उम्मेदवार जिल्लामा हुनुहुन्न,उहाँहरू काठमाडौँबाट आएपछि मात्र कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेर मात्र चुनाव लक्षित कार्यक्रम सञ्चालन गर्छौैँ”, प्रदेशसभा उम्मेदवार कांग्रेसका विकल शेरचनले बताउनुभयो ।

एमालेले पनि अहिलेसम्म निर्वाचन लक्षित कुनै गतिविधि सञ्चालन गरेको छैन । “हामी अहिले आन्तरिक तयारीमा लागेका छौँ,स्थानीय तहका साथीसँग छलफल भइरहेको छ,अब छिट्टै घरदैलो,भेटघाटलगायतका कार्यक्रम गर्छौँ”, एमालेको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार प्रेमप्रसाद तुलाचनले भन्नुभयो ।

जोमसोमस्थित होटल मुस्ताङ मोनालिसाका सञ्चालक विजय हिराचन चुनावप्रति स्थानीय त्यति उत्साहित नभएका बताउनुभयो । “मुस्ताङ होटल र पर्यटनले धानिएको जिल्ला हो,यहाँ अन्तिम समयमा मात्र चुनाव आएजस्तो हुन्छ,अघिपछि सबै आ–आफ्नै कामधन्दामा व्यस्त हुन्छन्,आफ्नो कामधन्दा नै छाडेर न त उम्मेदवार एक डेढ महिनाअघिदेखि चुनाव प्रचारमा लाग्छन्,न त मतदातालाई उम्मेदवारसँग छलफल गर्ने,उनीहरूका कुरा सुन्ने फुर्सद हुन्छ”, हिराचनले बताउनुभयो ।

विगतका वर्षको तुलनामा यस वर्ष मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम चेकपोष्टका अनुसार चालुआर्थिक वर्षको तीनमहिनामा मुस्ताङमा सडकमार्ग र हवाईमार्ग हुँदै नौ हजार बढी विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये करिब७५ प्रतिशत सार्क मुलुकका छन् ।

विगत १४ वर्षदेखि जोमसोममा सुनसरी किराना पसल सञ्चालन गर्दै आउनुभएकी राधिका क्षेत्रीले चुनाव आउँदै छ भन्ने आफूले सुनेको तर भोट माग्न अहिलेसम्म कोही पनि नआएको बताउनुभयो । “हामीलाई आफ्नै व्यवसायको ध्याउन्न छ, फलानो पार्टीको फलानोलाई भोट दिनु है भनेर कोही पनि आएको छैन,आए पनि हुन्छ हजुर भनेर छिट्टै आफ्नो काममा लाग्नुपर्ने बाध्यता छ”, क्षेत्रीले भन्नुभयो ।  file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot