Logo

काठमाडौंमा देउसीभैलो राति १० बजेसम्म खेल्न पाइने



काठमाडौं,८ कात्तिक । तिहारमा राति १० बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ । राति १० बजेसम्म देउसीभैलो खेल्ने गरी सुरक्षा प्रबन्ध गरिएको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार देउसीभैलो खेल्नका लागि यसअघि राति ९ः०० बजेसम्म तोकिएकामा नागरिकको मागबमोजिम थप एक घण्टा अर्थात् राति १० बजेसम्म कायम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले कात्तिक ४ गते जरुरी सूचना जारी गर्दै देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्नु÷खेलाउन जानकारी गराएको थियो । “देउसीभैलो खेल्न ९ बजेसम्म तोकिएको थियो नागरिकबाट माग भएबमोजिम राति १० बजेसम्म खेल्न दिने निर्णय गरिएको छ, सोहीअनुरुपको सुरक्षा प्रबन्ध मिलाइएको छ”, काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले बताए ।

प्रशासनले जुवातासजन्य गतिविधि नियन्त्रणमै रहेको जनाएको छ । त्यस्ता गतिविधिलाई नियन्त्रण र निरुत्साहित गर्न प्रशासन सक्रिय ढङ्गले लागेको छ । काठमाडौँ प्रशासनले दीपावली, नेपाल संवत् र छठपर्व प्रचलित परम्पराअनुसार सामाजिक एवं सांस्कृतिक पहिचान कायम हुने गरी प्रचलित कानुनको पालना गर्दै मनाउन सबैमा जरुरी सूचनामार्फत अनुरोध गरेको छ ।

यस अवसरमा सार्वजनिकस्थलमा मादक पदार्थ सेवन नगरी सुरक्षित र मर्यादित तवरले मनाउन, दीपावलीको अवसरमा बिजुली एवं मैनबत्तीजस्ता सामग्रीको प्रयोग सावधानीपूर्वक गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

“पटका, आतिसबाजी तथा अन्य प्रज्वलनशील पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न÷नगराउन सबैमा अनुरोध गरेको छ ।”



प्रतिक्रिया दिनुहोस्