Logo

अब प्रकाशमानलाई पुग्यो भन्ने जनमत छः किरण पौडेल



काठमाडौं, ९ कात्तिक । नेकपा एमालेका काठमाडौं १ का उम्मेदवार किरण पौडेलले पार्टीका एजेन्डाका आधारमा आफूले जित्ने दाबी गरेका छन् ।
‘मैदानमा को को छन् भन्दा पनि म कहाँ छु भन्ने प्रमुख कुरा हो । यो क्षेत्रमा हाम्रो पार्टीले पनि विगतमा जितेकै हो । प्रकाशमान सिंह तीन पटक निर्वाचित भइसक्नुभयो, अब पुग्यो भन्ने जनमत छ । मेरो उम्मेदवारीपछि नयाँ पुस्ताले उत्साहजनक रुपमा हृदयले नै सघाउँदै आएको छ । म आफ्नो जितमा ढुक्क छु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले भने ।
आफ्ना प्रतिस्पर्धी उम्मेदवारहरु एजेन्डाभन्दा पनि इतिहास र गालीगलौजमा केन्द्रित भएको आरोप पनि उनले लगाए । पौडेलले थपे, ‘एजेन्डाका आधारमा जनमत आउने हो । तर कतिपय उम्मेदवारहरु इतिहास र गालीगलौजमा सीमित हुनुहुन्छ । कोही पाँच वर्षमा दुईतीन पटक निर्वाचन क्षेत्रमा आउने र भोट बैंकलाई मात्र भेट्ने, कोही उम्मेदवार बन्न मन लाग्यो भने पार्टी खोलिहाल्ने । एउटा निर्वाचन हारेपछि पार्टी बदल्ने हो भने दुइटा हारेपछि राजनीति अनि तीनवटा हारेपछि देश नै छाड्ने त ?’

उनले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार भएको निर्वाचन क्षेत्र भए पनि काठमाडौं १ खानेपानी, ढल, सडक बत्ती, सुरक्षा लगायत विभिन्न समस्या झेलिरहेको औंल्याए । पौडेलले थपे, ‘यस क्षेत्रका जनताले सिंहदबार नजिकै भएको अझै पनि महसुस गर्न पाएका छैनन् ।’



प्रतिक्रिया दिनुहोस्