Logo

राजधानी पनि सफा गर्छु, राजनीति पनि सफा गर्छुः प्रदीप पौडेल



काठमाडौं, ११ कात्तिक । नेपाली कांग्रेसका नेता एवं काठमाडौं-५ का उम्मेदवार प्रदीप पौडेलले आफूले पुराना भन्ने उम्मेदवारले कुनै पनि विकास नगरेको आरोप लगाएका छन् ।

कसैले पुरानो भनेर मात्र घमण्ड गरेर हुँदैन । कसले के काम गरेको छ, भन्ने जनताले मूल्यांकन गर्छन् । काठमाडौं ५ का मतदाता विवेकी छन् । मतदाताको विवेकमाथि मलाई कुनै शंका छैन । कति चोटि मन्त्री भयो भन्ने आधारमा हेभिवेट र लोवेट होइँदैन, प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने । काठमाडौं ५ मा उनी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्दै छन् ।

उनले पोखरेलले पाँच वर्षमा सात किलोमिटर सडक समेत पिच गर्न नसकेको आरोप पनि लगाए । उनले भने, चुनावको मुखमा शुभकामना दिने अरु बेला मुख नदेखाउने पनि जनप्रतिनिधि हुन्छ । पाँच वर्षमा सात किलोमिटर सडक पनि पिच भएको छैन । १५ वर्षसम्म विष्णुमती, धोवीखोला करिडोर पूरा भएको छैन । प्रतिस्पर्धा राजनीतिलाई संग्ल्याउने कुरामा मेरो कसैसँग प्रतिस्पर्धा छैन । म राजधानी पनि सफा गर्छु, राजनीति पनि सफा गर्छु ।

आफूलाई टुरिस्ट उम्मेदवार भन्नुको अर्थ नभएको पनि उनले बताए । पौडेलले थपे, ‘मेरो विगत छैन ? म एकैचोटि टिकट लिएर आएको हो र ? स्कुलदेखि विश्वविद्यालयमा यहीं पढेको हुँ । मेरो यहाँ घर भएको पनि ३२ वर्ष भइसक्यो । म २५ वर्षदेखि राजनीतिमा सक्रिय छु । पार्टीको नेतृत्व तहमा छु । म कसरी नयाँ हुन्छु ? मलाई टुरिस्ट भन्नेचाहिँ कहाँको हो ? देशको राजधानीमा कोही पनि टुरिस्ट हुँदैन ।’

नेता भनेका सबै खराब हुन् भन्ने कुरा सच्चाउन आफू अघि बढेको पनि पौडेलले बताए । उनले थपे, ‘अहिले नेताले नमस्कार गर्दा कसैले फर्काउँदैन । राजधानीमै जनता र प्रतिनिधिबीच संवाद रहेनछ । खाली कागजमा सिग्नेचर गरेर विश्वासिलो मानिसलाई मात्र दिन सकिन्छ । मत भनेको त्यही हो । मेरो जिम्मेवारी राजनीतिप्रति विश्वास र सम्मान बढाउने हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot