काठमाडौं, ११ कार्तिक । काठमाडौं उपत्यकामा छठ पर्वको रौनक सुरु भएको छ । विगत वर्षहरु झैं यो वर्ष पनि काठमाडौंमा धुमधामका साथ छठ पर्व मनाउन तयारी थालिएको छ । काठमाडौंंका गौरीघाट, कमलोखरी, टेकुलगायतका स्थानमा छठघाट बनाउने निर्माणको काम भैरहेको छ ।
राजधानीको गौरीघाटमा छठ पूजाका लागि छठघाट बनाउने काम अन्तिम चरणमा पुगेको छठपूजा समितिले जनाएको छ । समितिले करिब ९० प्रतिशत काम सम्पन्न भएको र सबै तयारी पूरा गरेर धुमधामका साथ छठ मनाउने गरी तयारी भइरहेको जनाएको छ । यसवर्षको छठअन्तरगत आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तिथि रहेको छ ।
सूर्यको उपासना गरेर छठ पर्व मनाइन्छ । यस व्रतलाई निकै कठोर मानिन्छ । व्रतालुहरूले पवित्र स्नान, उपवास, पानीसमेत नपिउने, लामो समयसम्म पानीमा खडा हुने, प्रार्थना प्रसाद र अर्घ्य दिने गर्छन् । भारतको बिहार र नेपालको तराईका जिल्लामा प्राचीनकालदेखि नै छठलाई मुख्य पर्वका रूपमा मनाइँदै आइएको छ । पछिल्लो समय राजधानी काठमाडौँसहित धेरै स्थानमा पहाडिया समुदायले पनि यो पर्व मनाउने गरेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम