Logo

चुनावी सभामा हृदयेश त्रिपाठी आक्रामक, प्रतिष्पर्धी विनोद चौधरीको भण्डाफोर र चर्को आलोचना (भिडिओसहित)



काठमाडौं, १२ कार्तिक । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभाको लागि नवलपरासी-१ (ब.सु.प.) का उम्मेदवार हृदयेश त्रिपाठीले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई प्रतिकात्मक जनमतसंग्रहको संज्ञा दिएका छन् । कोदालो बोकेको किसान चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका त्रिपाठीले आफूहरुले यो लडाई जित्नुपर्ने बताउने गरेका छन् ।

चुनावी प्रचारप्रसारको क्रममा आयोजित सभामा बोल्दा त्रिपाठीले अहिलेको निर्वाचनलाई एक किसिमको प्रतिकात्मक जनमतसंग्रहको रुपमा लिनुपर्ने भन्दै सोहीअनुसार भूमिका खेल्न नेता तथा कार्यकर्ताहरुलाई अपिल गर्ने गरेका छन् । उनले लिकभन्दा बाहिर गएको संविधान, अर्थतन्त्र, राजनीतिक चरित्रलाई लिकमा ल्याउनको लागि आफूहरुको भूमिका हुने विश्वास दिलाउने गरेका छन् ।

उनले सत्ता गठबन्धनमार्फत गलत संस्कार सुरु भएको भन्दै त्यसलाई पराजित गर्नैपर्ने बताउने गरेका छन् । उनले भने,”यो निर्वाचन त जनमतसंग्रहको विषय हो । भावी राजनीतिलाई तय गर्ने निर्वाचन हो । अहिले संविधान त छ, तर घाइते भएको छ ।” उनले संविधान घाइते भएको विषय सर्वोच्च अदालतबाट परमादेश जारी भएको र प्रधानमन्त्री बनाउने विषयलाई जोडेका छन् ।
आफूसँग चुनावी प्रतिष्पर्धामा रहेका कांग्रेसका विनोद चौधरीको बारेमा पनि उनले आलोचना गरेका छन् । उनले चौधरीको व्यवसाय नेपालभन्दा बढि देश बाहिर रहेको दाबी गरेका छन् । उनले भने,”उहाँको नेपालभन्दा बढि ११ गुणा बढि लगानी विदेशमा छ । हामी लगानी भित्र्याउनको लागि सभा तथा सम्मेलन गर्छौं । उहाँको भाषण हुन्छ, यहाँको लगानीकर्ता बाहिर जाने ?”

विनोद चौधरी देशकै धनी व्यक्ति भएपनि कर तिर्नेमा उनी २० नम्बरमा पनि नपर्ने त्रिपाठीको दाबी छ । मंसिर ४ गतेको निर्वाचनमा आफ्नो क्षेत्र देशकै आँखा र केन्द्रविन्दुमा परिसकेको उनको भनाई छ । ०७२ मा भुकम्प गएको बेलामा विनोद चौधरीले भुकम्प पीडितको लागि १० हजार घर बनाउँछु भनेर प्रतिबद्धता गरेको र त्यसको लागि सरकारसँग विदेशबाट पैसा ल्याउन अनुमति पनि लिएको तर प्रतिबद्धता गरेबमोजिम घर नबनाएको उनको आरोप छ ।

https://www.facebook.com/100006704084165/videos/815423062995086

 



प्रतिक्रिया दिनुहोस्