Logo

मुद्दती निक्षेपको अंश झन्डै ६० प्रतिशत



काठमाडौं, कात्तिक १३। बैंक, वित्तीय संस्थामा रहेको कुल निक्षेपमा मुद्दतीको अंश करीब ६० प्रतिशत पुगेको छ । तरलता अभावका कारण निक्षेप बढाउन बैंकहरूले लामो अवधिका मुद्दती योजनामा जोड दिएपछि यसको अंश बढेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत भदौसम्ममा बैंकहरूको निक्षेप ५० खर्ब ९० अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । यसमा मुद्दतीको अंश ५८ दशमलव ८ प्रतिशत छ । एक वर्षअघि बैंकहरूसँग रहेको कुल निक्षेपमा मुद्दतीको अंश ४९ दशमलव २ प्रतिशत थियो ।

गत असोजदेखि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा १० दशमलव १३ र रेमिट्यान्स मुद्दती निक्षेपमा १३ दशमलव १३३ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

यस्तै विकास बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याजदर पुर्‍याएका छन् । फाइनान्स कम्पनीहरूले पनि व्यक्तिगत मुद्दती निक्षेपमा १३ दशमलव ४७ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेपमा ११ दशमलव ४७ प्रतिशतसम्म ब्याजदर पुर्‍याएका छन् ।

वित्तीय प्रणालीमा देखिएको तरलता अभावसँगै बैंकहरूमा निक्षेप घटिरहेको छ । २०७९ भदौमा बैंक तथा वित्तीय संस्थाको निक्षेप शून्य दशमलव ९ प्रतिशतले घट्दा कर्जा प्रवाह शून्य दशमलव ५५ प्रतिशतले मात्र बढेको छ । निक्षेप बढाउन बैंकहरूले सर्वसाधारणलाई शुरू निक्षेपको १० गुणासम्म फिर्ता दिने गरी २१ वर्ष अवधिसम्मका योजना सञ्चालन गरेका छन् ।

यस्ता योजनामा बैंकहरूले ब्याजका अतिरिक्त बीमा, क्रेडिट कार्ड, सुलभ कर्जाजस्ता सुविधासमेत थपेका छन् । यसले गर्दा पछिल्लो समय अन्य प्रकृतिको निक्षेप घटेर मुद्दती निक्षेप बढिरहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्