काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेसका नेता एवं नवलपरासी १ का उम्मेदवार विनोद चौधरीले आफूलाई टुरिस्ट उम्मेदवार भन्नु पराजित मानसिकताको उपज भएको बताएका छन् ।
‘हृदयेश त्रिपाठी मेरा मित्र हुनुहुुन्छ । व्यक्तिगत रुपमा म कुनै गालीगलौज गर्न चाहन्नँ । तर उहाँले मलाई टुरिस्ट उम्मेदवार भन्नु पराजित मानसिकताको उपज मात्र हो । पर्यटनको महत्त्व मलाई जति सायद उहाँलाई थाहा छैन । म विगत ४० वर्षदेखि नवलपरासीमा छु । नवलपुर त भरखरै छुट्टिएको मात्र हो । प्रचण्ड गोरखाबाट लड्दै हुनुहुन्छ । मदन भण्डारीले काठमाडौंबाट लडेर जित्नुभयो । मनमोहन सिंहले आसाममा गएर लड्नुभयो । नरेन्द्र मोदी वनारस आएर लड्दा त्यहाँको कायापलट भयो । कसलाई कहाँबाट लडाउने भन्ने पार्टीको प्रश्न हो, यहाँ विनोद चौधरी होइन, रुख लडेको हो,’ रिपोर्टर्स नेपाल डट कम, प्राइम टाइम्स टेलिभिजन, नागरिक दैनिक, दिव्यदर्शन टेलिभिजन र नेपाली रेडियो नेटवर्क (एनआरएन) को संयुक्त निर्वाचन बहस ‘मंसिर ४ महासंग्राम’ मा पत्रकार ऋषि धमलासँग चौधरीले भने । आफू सबभन्दा कठिन ठाउँ रोजेर नवलपरासी १ मा आएको उनको स्पष्टोक्ति थियो ।
निवर्तमान सांसद त्रिपाठीले २५ वर्षदेखि नवलपरासी १ का जनतालाई अविकासको बन्दी बनाएको आरोप चौधरीको छ । उनले भने, ‘नवलपरासीका जनताले विकास चाहिरहेका छन् । यहाँका जनतालाई २५ वर्षदेखि अविकासको बन्दीका रुपमा राखिएको छ । बीचमा तीन वर्ष किनान नेता देवकरण प्रसाद कलवारले जितेबाहेक सधैं एकैजनाको प्रतिनिधित्व छ । उहाँ पाँच पटक सांसद हुनुभो, आठ पटक मन्त्री हुनुभो । तर भनेका बेला किसानले मल पाउँदैन, हजारौं बिघा जमिन डुबानमा छ । गतिलो अस्पताल छैन । कृषि उपजको दुर्दशा छ । विकास शून्य छ ।’
‘मोटरसाइकलमा घरदैलो गर्दा पनि खुसी छु’
मोटरसाइकलको पछाडि बसेर घरदैलो गर्न कति गाह्रो छ भन्ने पत्रकार धमलाको प्रश्नमा चौधरीले थपे, ‘म सार्वजनिक बस चढेको मानिस हुँ । सरकारी स्कुल पढेको मानिस हुँ । मेरा लागि साइकल पनि प्राइभेट जेट चढेजस्तै लक्जरी हो । मोटरसाइकलमा घरदैलो गर्दा पनि म खुसी छु । म जस्तोसुकै दुःख गर्न सक्छु ।’
उद्योग व्यवसाय छाडेर राजनीतिमा आउनु कति जायज हो भन्ने अर्को प्रश्नमा चौधरीले भने, ‘मैले उद्योग व्यवसाय नयाँ पुस्ता वा सक्षम व्यवस्थापनलाई जिम्मा लगाइसकेको धेरै समय भैसक्यो । अब मलाई न दाम चाहिएको छ, न नाम चाहिएको छ । देशप्रतिको माया र आर्थिक परिवर्तन ल्याउन पूर्णकालीन राजनीतिमा आएको हुँ । हामी आफ्नो घरमा बस्न किन नपाउने, आफ्नै देशमा कामको वातावरण किन नबनाउने भन्ने विदेशमा बस्ने नेपाली युवाहरुको आँखा र अनुहारको भाषाले मलाई राजनीतिमा ल्याएको हो ।’