काठमाडौं, १३ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा कुपण्डोलस्थित् पुल नजिकको वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका छन् ।
देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा प्रधानमन्त्रीले पनि सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाइएको थियो ।
प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भीड लागेको छ । भजन एवं भक्ति सङ्गीतले पशुपति क्षेत्रको वाग्मती नदी किनारको वातावरण मेलामय बनेको छ ।
यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, कुपण्डोल, विभिन्न स्थानका नक्खु खोला, विष्णुमती र वाग्मती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको छ ।
यी स्थानमा छठ घाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरिएको छ । जहाँ आज अस्ताउँदो सूर्यसँगै छठी माताको पनि पूजा आराधना गरिन्छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम