काठमाडौं, १४ कात्तिक । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । आगामी मंसिरमा हुने निर्वाचनका लागि तयार पारिएको उक्त घोषणा पत्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सार्वजनिक गरेका हुन् ।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीका शीर्षनेताहरुको उपस्थिति थियो ।
वैदेशिक रोजगारीमा रहेका युवाहरूलाई नेपाल फर्केपछि रोजगारी–स्वरोजगारी सुनिश्चित गर्न राष्ट्रिय रोजगार प्राधिकरणले अनलाइन मार्फत परामर्श दिई उद्यम–व्यवसायको परियोजना प्रस्ताव तयार गर्न सहयोग गर्ने पार्टीको घोषणपत्रमा उल्लेख छ । पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति अघि सारेको छ ।
त्यस्तै,संघीय शिक्षा ऐन नयाँ सरकार बनेको ६ महिनाभित्र जारी गरिने र प्रदेश तथा स्थानीय तहको शिक्षा ऐन निर्माणमा सहजीकरण गरिने जनाइएको छ । शिक्षा निःशुल्क तथा अनिवार्य शिक्षा सम्बन्धी ऐन तथा नियमावलीको मर्म र भावना बमोजिम कार्यान्वयन गरी नागरिकको शिक्षा पाउने अधिकार सुनिश्चित गरिने घोषणपत्रमा उल्लेख छ ।