Logo

ओलीजीले मनको चिउरा घिउसित खान पाउनुहुन्छः चित्रबहादुर केसी



काठमाडौं, १५ कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बागलुङ १ का गठबन्धनका उम्मेदवार चित्रबहादुर केसीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भविष्यवाणी पूरा नहुने दाबी गरेका छन् ।
‘२०७४ मा सय भोटमध्ये ६४ भोट पारिदिएको एमालेलाई पचेन । ओलीजीले केन्द्र र ६ प्रदेशको सरकार घाटमा लगेर सेलाएको होइन ? संविधानलाई दिएको दुईदुई पालि संसद् भत्काउनुभो । दुईचोटि सर्वोच्च अदालतले ब्युँताउँदा पनि नौ महिनासम्म संसद् चल्न दिनु भएन । ओलीले एमालेले १५० सिट जित्ने भविष्यवाणी गदैमा के हुन्छ र ? मनका चिउरा घिउसित खान पाइन्छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने ।
ओलीले भनेजस्तो वाम गठबन्धनको सरकार नबन्ने ठोकुवा पनि उनले गरे । केसीले थपे, ‘केपी ओलीको फासिस्ट नीति विरुद्धको सूत्रधार राजमो हो । गठबन्धन देशको आवश्यकता भयो । प्रतिगमनको खतरा अहिले पनि छ । एमाले त सच्चिएकै छैन । वाम गठबन्धनको सरकार के गरी बन्छ ? प्रतिगामीहरु जे पनि भन्छन् । वनको चरो के बास्छ के बास्छ, लोकतन्त्रमा जे पनि भन्न पाइन्छ ।’
जनताप्रति आफ्नो अगाध विश्वास भएकाले उनीहरुको निर्णय स्वीकार्य हुने पनि उनले बताए । केसीले भने, ‘युक्रेनमा ४३ वर्षको ठिटो राष्ट्रपति छन् होइन ? देशलाई के भयो त ? कहिलेकाहीं तन्नेरीले पनि गलत विचार ल्याउँछन् । बिचरा विरोधीले केही सीप नलागेर उमेरतिर लगेर जोडेका छन् । रवीन्द्र मिश्र त लाठे तन्नेरी नै हुन् नि । कहाँ गएर के भए ? जनताप्रति मेरो अगाध विश्वास छ । मलाई हराउनु वा जिताउनु बागलुङे जनताको कुरा हो । जनताले नपत्याएपछि हार्न मिल्दैन र ?’
मंसिर ४ पछि गठबन्धनकै सरकार बन्ने र त्यसलाई राजमोले समर्थन गर्ने पनि केसीले स्पष्ट पारे । उनले भने, ‘हामी घुस खान र कमिसन खान सत्तामा जाँदैनौं । राजमोको सरकारमा जाने नीति छैन । तर आवश्यक परे जानु पनि पर्छ । आगामी सरकार प्रतिगमनको विरोध गर्नेकै बन्नुपर्छ र त्यसलाई राजमोले समर्थन गर्छ ।’

 



प्रतिक्रिया दिनुहोस्