काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका पुराना नेता एवं नवलपरासी १ (ख)का उम्मेदवार देवकरण कलवार (सन्तु) ले पाँच पटक सांसद र आठ पटक मन्त्री भएर हृदयेश त्रिपाठीले आफ्नो मात्र महल बनाएको आरोप लगाएका छन् ।
‘हृदयेश त्रिपाठी नवलपरासीबाट २०४८ देखि पाँच पटक सांसद बन्नुभयो, आठ पटक मन्त्री बन्नुभयो । तर २०४३ सालदेखि डुबानको समस्या यथावत् छ । राम्रो विद्यालय छैन । अस्पताल छैन । बेरोजगारी, सिंचाइ, मल, शिक्षा र स्वास्थ्यको समस्या समाधान भएन । नवलपरासीको कठवामा हृदयेश त्रिपाठीको महल छ, त्यही टोलको मुसहर झुपडी अझै पनि अँध्यारोमै छ । त्रिपाठीलाई जनताले पत्याएका छैनन् । उहाँ आफ्ना लागि मन्त्री हुनुभो, सुख सुविधा मात्र लिनुभयो । जनताप्रति जवाफदेही हुनुभएन । २०७० मा ६ हजार मतले हार्नुभएको थियो, अहिले विनोद चौधरीसँग त्यो भन्दा बढी मतले हार्नुहुन्छ,’ पत्रकार ऋषि धमलाले सञ्चालन गरेको बहस ‘मंसिर ४ महासंग्राम’मा सन्तुले भने ।
विनोद चौधरीलाई नवलपरासी १ मा किन ल्याउनुभो भन्ने पत्रकार धमलाको प्रश्नमा सन्तुले भने, ‘विनोद चौधरी भिजन भएको विकासप्रेमी नेता हो । नवलपुर क्षेत्रमा उद्योगधन्दा खोलेर युवालाई रोजगारी दिनुभएको छ, सुन्दर मन्दिर बनाउनुभएको छ । त्यसैले उहाँप्रति हामीलाई अटुट विश्वास छ । उहाँलाई नेपाली कांग्रेसले जहाँ पनि चुनाव लडाउन सक्थ्यो । तर यहाँको विकास, बेरोजगारी, किसानको पीडा सुनाउनका लागि हामीले यहाँ ल्याएका हौं ।’
आफूले चौधरीसँग मल कारखाना स्थापना गरिदिन आग्रह गरेको पनि सन्तुले बताए । उनले थपे, ‘नवलपरासी सिंगो हुँदा उहाँले गरेका काम हामीले देखेका छौं । हामीले मलका कारण धेरै पीडा खेपेका छौं । एउटा मल कारखाना राखिदिनुस् भनेका छौं । उहाँले कारखाना बनाउन सजिलो छैन, समय लाग्छ भन्नुभएको छ । तर सरकारसँग पहल गरेर समयमै मलको व्यवस्था मिलाउँछु भन्नुभएको छ ।’ चौधरीलाई जिताउन कांग्रेस एक भएर लाग्ने प्रतिबद्धता पनि उनले जनाए ।