Logo

किरण गुरुङले अबको पाँच वर्ष घरमै आराम गर्नुहुन्छः शंकर भण्डारी



काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले तनहुँ २ ले विकासका लागि आफूलाई नै पर्खिरहेको दाबी गरेका छन् ।
‘यहाँ २०४८ सालदेखि किरण गुरुङले चुनाव जितिरहनुभएको छ । तर कुनै पनि विकास भएन भन्ने कुरा भूगोल आफैं बोल्छ । यहाँ केन्द्रीय स्तरको विकास आएको भनेको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास अस्पताल हो । त्यो पनि हामीले ल्याएका हौं । यसबाहेक कुनै काम भएनन् । तनहुँ २ ले मलाई नै कुरेर बसेको छ । २५ वर्षमा नभएको काम पाँच वर्षमा गर्छु । मेरा प्रतिद्वन्द्वी एमाले उम्मेदवार किरण गुरुङले अबको पाँच वर्ष घरमै परिवारसित आराम गर्नुपर्छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले भने ।
आफूलाई हराउने ताकत कसैसँग नभएको पनि भण्डारीले दाबी गरे । उनले भने, ‘म चुनाव जित्नै उठेको हुँ । हराउँछु भन्न त पाइयो । तर जित्ने मै हो । यहाँ २५ वर्षसम्म यहाँ एमालेले जित्दै आयो । तर राष्ट्रिय स्तरमा कुनै योजना आएनन् । बाटोको समस्या छ । बिजुलीको समस्या छ । सिँचाइ र विद्यालय भौतिक पूर्वाधारको समस्या छ । ५५-५६ प्रशिशत जनताले मात्र खानेपानी पाएका छन् ।’
साबिक तनहुँ १ मा २०७० मा संविधानसभा सदस्य जितेर वनमन्त्री हुँदा आफूले जिल्लाका लागि काम गरेको फेहरिस्त पनि उनले सुनाए । जीपी कोइराला शिक्षण अस्पतालका रुपमा विकास गर्ने, पर्यटन पूर्वाधारको विकास गरेर दसौं हजारका लागि रोजगारी गर्ने र संसारकै पर्यटकीय गन्तव्य पोखराको लाभ लिने गरी काम गर्ने उनका प्रतिबद्धता छन् ।



प्रतिक्रिया दिनुहोस्