Logo

मिर्गौलापीडितको उपचारमा १५ लाख सहयोग



काठमाडौँ,१६ कार्तिक । मिर्गौला रोगबाट पीडित ताराखोला गाउँपालिका–५ करिमेलाका सङ्कल रोकाको उपचारमा रु १५ लाख ३५ हजार सहयोग जुटेको छ । पच्चीस वर्षीय उनको मिर्गौला प्रत्यारोपणका लागि गत साउनदेखि आर्थिक सहयोग अभियान चलाइएको हो ।

स्थानीय नवसिर्जना र असारे युवा क्लबको संयुक्त पहलबाट सङ्कलित सो रकम रोकाका परिवारजनलाई हस्तान्तरण गरिएको नवसिर्जना युवा क्लबका अध्यक्ष पूर्णभद्र न्यूरेले जानकारी दिए । त्यसमध्ये रु ६५ हजार बहराइनमा रहेका जीवन रोका मगरको अगुवाइमा सङ्कलन भएको हो ।

मिर्गौला प्रत्योरापणका लागि अर्थाभाव भएपछि रोकाका परिवारजनले सहयोगको याचना गरेका थिए । परिवारको आग्रहमा स्थानीय दुई क्लब मिलेर चलाएको अभियानमा देश–विदेशबाट सहयोग रकम जुटेको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि रोका अहिले सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचाररत छन् ।

दिदी पूर्णमायाको मिर्गौला रोकामा प्रत्यारोपण गर्ने तयारी भइरहेको जनाइएको छ । आफन्त र शुभेच्छुकहरूको सहयोगबाट आर्थिक जोहो भएपछि रोकाका परिवारजन अब उपचार सफल हुनेमा आशावादी छन् । उपचारका क्रममा थप रकम चाहिने भएकाले इच्छुकलाई सहयोग गर्न आग्रह गरिएको छ ।

नौ महिनाअघि रोजगारीका लागि विदेश जानुपूर्व स्वास्थ्य जाँच गर्दा रोकामा मिर्गौलाको समस्या देखिएको थियो । त्यसअघि तीन वर्ष कतार र एक वर्ष युएईमा काम गरेर फर्केका उनी पुनः रोजगारीका लागि बहराइन जाने तयारीमा थिए । अकस्मात मिर्गौलामा समस्या देखिएपछि उनी विदेश जान नपाइ घर फर्कनुप¥यो ।

कमाउन विदेश हिँड्नुभएका रोका उल्टै बिरामी परेर घर फर्केपछि परिवारमा पनि समस्या आइपरेको छ । रोकाको परिवारलाई आर्थिक सहायताका लागि सङ्कल रोकाका नाममा प्रभु बैंकमा रहेको खाता नं ०६००१५१२५३२०००१६ रकम जम्मा गर्न सकिने छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot