इलाम, कात्तिक १७ । देउमाई नगरपालिका–३ का ढाकाराम अधिकारी चिया मजदुर हुन् । उनको दैनिकी चिया टिपेर, बेचेर बित्छ । ‘१–२ पैसा हुन्छ’ कि भन्ने आशमा चिया मजदुरी गरिरहेका छन् ।
मजदुरीबाट आएको पैसाले छोराछोरी पढाउनदेखि घरखर्च चलाउनसम्म धान्नुपर्ने हुन्छ । नेताले किसान र मजदुरका समस्या अहिलेसम्म बुभ्mन नसकेको उनको गुनासो छ ।
‘हामी गरिब किसानले अहिलेसम्म राहत पाउन सकेका छैनौं, अबको निर्वाचनबाट चिया किसानका लागि मल बिउ पर्याप्त मात्रामा पु¥याउने नेता चुनिन आवश्यक छ,’ ढाकाराम भन्छन्, ‘चिया टिप्दा प्रयोग हुने डोकाजस्ता अत्यावश्यक कुरा सरकारले उपलब्ध गराइदिए हामीलाई पनि सहज हुने थियो ।’
चिया टिप्दा खुट्टामा लगाउने गम्बुट, पन्जा, प्लास्टिकका डोकाजस्ता आधारभूत सामग्री सरकारले उपलब्ध गराइदिए ‘सहज हुने’ उनको आशा छ ।
अहिले चिया टिप्दा चोयाबाट बुनेका डोका प्रयोग हुँदै आएका छन् । बर्खामा चिया टिप्दा भिज्ने र १५ दिनसम्म पनि नथाम्ने भएकाले आधुनिक प्लास्टिकका डोका आवश्यक रहेको ढाकाराम बताउँछन् ।
हातले भन्दा मेसिनबाट चिया टिप्न छिटो हुने भएकाले विभिन्न औजार सरकारले उपलब्ध गराउनुपर्ने उनको माग छ । ढाकाराम भन्छन्, ‘हातले पाँच किलोसम्म टिपिन्थ्यो भने मेसिनले २० किलोसम्म टिप्न सकिन्छ ।’
इलाम देउमाई नगरपालिका–८ की प्रेमीमाया तामाङ पनि चिया टिप्न व्यस्त छिन् । बिहान–बेलुका घरको काम गरेर दिउँसो चिया टिप्न निस्कने तामाङको दैनिकी मजदुरीमै बित्ने गर्छ ।
चिया मजदुरी गरिरहेका किसान यो वर्षको अन्तिम चिया टिप्दै छन् । उनको मजदुरी अब नयाँ चिया उत्पादन नभएसम्म सकिँदै छ । उनी दिनैपिच्छे रोजगारी नपाउने भन्दै रोजगारी गरेर खानेका लागि सरकारले रोजगारी पाउनेगरी बनाइदिए दैनिकी चलाउन सकिने बताउँछिन् ।
देउमाई नगरपालिका–३ का उमाराम अधिकारी पनि चिया मजदुर हुन् । चोकचोकमा चुनावको चर्चा चलिरहँदा उनी डोको बोकेर बगानमा चिया टिप्न व्यस्त छन् ।
‘पाँच वर्षअगाडिको निर्वाचनमा भोट माग्न नेता आउँदा सबै समस्या समाधान गर्ने भन्दै आश्वासन बाँडे तर पूरा हुन सकेन,’ उनी भन्छन्, ‘किसानका लागि सुविधा भनेको बाटो र खानेपानी रहेछ, आवश्यक पर्दा बाटो सजिलो भए बिरामी हुँदा जुनसुकै बेला उपचारमा जान सकिन्छ, अत्यावश्यक भनेको खानेपानी रहेको छ ।’ आगामी निर्वाचनमा यस्ता कुरा चाँडोभन्दा चाँडो गरिनुपर्ने उनको जोड छ ।
तामाङ र अधिकारी प्रतिनिधि पात्र मात्र हुन् । इलामका अधिकांश किसान चियाखेतीमा आबद्ध छन् । धेरैजसो मजदुर बगानमा काम गर्छन् । जीविकोपार्जनको मुख्य स्रोत चियाखेतीमा भएका समस्या अहिलेसम्म सम्बोधन हुन सकेका छैनन् । यसअघिका निर्वाचनमा पटकपटक समस्या राख्दा आश्वासन पाए पनि पूरा हुन नसकेपछि अब पनि तिनै समस्या देखाउन किसान बाध्य छन् ।
बजारीकरण र मूल्यमा त समस्या छँदै छ, चियामा लगाउने मल, टिप्ने औजार, पन्जा, गम्बुट, डोकोजस्ता आधारभूत आवश्यकता नै पाउन नसकेको किसानको गुनासो छ ।राजधानी दैनिकबाट