काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसका नेता एवं गुल्मी १ का उम्मेदवार डा. चन्द्रकान्त भण्डारीले नेकपा एमालेले देश बनाउने पाँच वर्षको अवसर खेर फालेको आरोप लगाएका छन् ।
‘राजनीति भनेको ढाँटछल होइन । म कसैको आलोचना गर्न जन्मेको होइन । त्यो मेरो संस्कार पनि होइन । एक्काइसौं शताब्दीको राजनीति भनेको आफ्नो सपना राख्ने हो । मुलुक कसरी बनाउँछु, जिल्ला कसरी बनाउँछु भन्ने हो । एमालेले देश बनाउने भए पाँच वर्षको अवसर किन खेर फाल्थ्यो ? २ खर्बको राजस्व उठेको छैन, सय खर्बको अर्थतन्त्र कसरी बन्छ ? जनतालाई कति दिन बेबकुफ बनाउने ?’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भण्डारीले भने ।
पार्टीभित्र र गठबन्धनमा एकता भएकाले आफ्नो जित निश्चित भएको पनि भण्डारीको दाबी छ । ‘गुल्मी १ मा नेकपा एमालको पकड थिएन र छैन । केही स्थान धाँधली गर्ने र प्रशासनले आँखा चिम्लने गर्दा मैले २०७४ मा हारें । मैले संविधानसभामा जित्दा धेरै नमुना विकास गरें । मैले विपन्न परिवारका लागि घर बनाएको छु । उनीहरुसँगै दसैं मनाउँछु । म अरुजस्तो नेता होइन । गुल्मीमा कांग्रेस र गठबन्धनमा एकता छ । अन्तर्घातको सम्भावना छैन, उनले भने ।
अबको प्रधानमन्त्री को हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले थपे, ‘जुन अनुहार निष्कलंक छ, जोसँग मुलुकका निम्ति राम्रो दृष्टिकोण छ, उसलाई बनाउनुपर्छ । चुनाव जितेर आएपछि मात्र को प्रधानमन्त्री बन्ने भन्छु । अहिले फलानो प्रधानमन्त्री भन्ने बित्तिकै हराउन लाग्छन् ।’