काठमाडौँ,१८ कार्तिक । जब निर्वाचन आउँछ, तब उम्मेदवार माझी बस्ती पुग्ने गर्छन् । अहिले पनि प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बागलुङ नगरपालिका–१ को माझी बस्तीमा उम्मेदवार तथा नेता अनेक आश्वासन बोकेर मत माग्न पुगेका छन् । बिहान–बेलुकाको छाक टार्न मुस्किल परिरहेको माझी समुदायलाई उम्मेदवारले रोजगार दिलाउने आश देखाइरहेका छन् ।
विसं २०४८ मा बागलुङ–पोखरा राजमार्ग निर्माण गर्दा विस्थापित भएका माझी परिवार एक दशक बढी बाङ्गेचौर वरपर छाप्रो बनाएर बसे । त्यही नै गुजारा चलाए । चार वर्ष अगाडि सरकारले नियरघाट नजिकै बस्ती निर्माण गरी उनीहरूलाई हस्तान्तरण ग¥यो । धेरैले घरसहित लालपुर्जा पाए । तर अझै केही परिवारले पाउन सकेका छैनन् ।
माझी समुदायलाई सडक, खानेपानी, रोजगारलगायतका आश्वासन चुनावैपिच्छे आउँछन्, तर काम गर्दैनन् । स्थानीय सोमबहादुर माझी भन्छन्, “चुनावका बेला यो गर्दिन्छौँ, त्यो गर्दिन्छौँ भन्दै दिनदिनै नेताहरू आउछन्, चुनाव जितेपछि एकपटक पनि हाम्रो बस्तीमा आउदैनन्, काम पनि खासै केही गर्न सकेनन्, हाम्रो बस्तीमा धेरै समस्या छन् ।”
उम्मेदवारले चुनावका बेला सडक, खानेपानी र रोजगारको कुरा गरे पनि अहिलेसम्म कुनै पनि बाचा पूरा गर्न नसकेको माझीको गुनासो छ । उनी वर्षौँ बितिसक्दा पनि खानेपानीको व्यवस्थापन पूर्णरूपमा हुन नसकेको भन्दै सडकको अवस्था पनि उस्तै रहेको बताउछन् ।
“चुनावका बेला भोट माग्न आउने सबैले सडक, खानेपानीको कुरा गर्छन्, यहाँ पानी ल्याउने भनेको धेरै भयो अहिलेसम्म स्वच्छ खानेपानीको व्यवस्था हुनसकेको छैन”, उनले भने ।
विस्थापित माझी परिवारलाई सरकारले १३ घर निर्माण गरी चार वर्ष अगाडि हस्तान्तरण गरेको थियो । उनीहरूले घर पाए पनि स्वास्थ्य, शिक्षा, रोजगार र खानेपानीको राम्रो व्यवस्था हुन नसकेको स्थानीय उमा माझीले बताइन् । उनले पटक–पटक आफूहरूले भोट दिए पनि माझी समुदायमा उम्मेदवार जितेपछि कमै आउने गुनासो गरे ।
“हाम्रा लागि काम गर्लान् भनेर भोट दिएर जिताइयो तर फर्कि हेरेनन्, समस्या जस्ताकोतस्तै छन्”, उनले भने, “भोट माग्न आउने बेलामा गर्छौँ भनेर भन्छन्, विश्वास लाग्छ तर काम गर्दैनन्, अहिले आएर हामीहरूलाई झुक्याउन खोजेको जस्तो लाग्न थाल्यो ।”
माझी समुदायको उम्मेदवारसँग ठूलो अपेक्षा छैन । रोजगार सिर्जना गरिदिए पुग्ने उनीहरु बताउँछन् । स्थानीय चन्द्रकला माझी भन्छन्, “भएको घर सम्पत्ति सडकले खाइदियो, सरकारले यति घरमात्रै बनाइदिएको हो, घरमात्रै भएर नहुने, गरीखाने ठाउँ छैन, सरकारले कि गरिखाने ठाउँ, कि काम गर्ने ठाउँको व्यवस्था गरिदिए हुन्थ्यो ।”
उम्मेदवारको ध्यान माझी बस्तीमा पुग्न नसक्दा आफूहरूको समस्या ज्यूँका त्यूँ रहेको उनीहरु बताउँछन् । “अहिले आउने उम्मेदवार अर्को चुनावमा मात्र फर्किन्छन््”, उनले भने, “भ्रममात्रै छर्दा रैछन्, काम गर्दा रहेनछन् ।”
सडक निर्माण गर्दा विस्थापित बनेकामध्ये १३ परिवारको सरकारले घर निर्माण गरेर हस्तान्तरण गरे पनि तीन परिवारले अझै लालपुर्जा पाउन सकेका छैनन् । अहिलेसम्म गमसिंह माझी, रामबहादुर माझी र यमबहादुर माझीले लालपुर्जा पाएका छैनन् । विभिन्न प्रक्रिया नपुग्दा आफूहरूले अहिलेसम्म लालपुर्जा पाउन नसकेको यमबहादुर माझीको भनाइ छ । रासस