Logo

पुष्पा भुसालकै सामुन्ने टोपबहादुर रायमाझीले भने- मैले गरेका विकासको फेहरिस्त सुनाउने हो भने तीन महिना लाग्छ



काठमाडौं, १८ कात्तिक । अर्घाखाँचीमा लगातार तीन चुनाव जित्दै आएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई कडा टक्कर दिँदैछिन्, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसाल । रायमाझीलाई १५ वर्षे विरासत जसरी पनि जोगाउनु छ भने भुसाललाई पाँच दलीय गठबन्धनको बलमा त्यसलाई भत्काउनु छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा केलाउने हो भने नेकपा एमालेभन्दा सत्तारुढ गठबन्धन ५ हजार ५ सय मतले अगाडि छ । तर पटक पटक मन्त्री र उपप्रधानमन्त्री भएका रायमाझीको विरासत भत्काउन सजिलो पनि छैन उपसभामुखसमेत रहेकी भुसाललाई ।

स्थानीय तहमा अर्घाखाँचीका ६ पालिकामध्ये एमाले ३, कांग्रेस २ र राष्ट्रिय जनमोर्चा एउटामा विजयी भएका छन् । वडाध्यक्षहरूको मतका आधारमा एमालेको ४८ हजार २६०, कांग्रेसको ३७ हजार २५, माओवादी केन्द्रको ७ हजार ७९०, राष्ट्रिय जनमोर्चाको ४ हजार २०४ र एकीकृत समाजवादीको ३ हजार ७३६ मत छ ।

अर्घाखाँचीमा अर्घाखाँचीमा एमाले वडाध्यक्षहरूले पाएको मतमा कांग्रेस र माओवादी केन्द्रभन्दा बढी भए पनि राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको मत समेटिँदा एमालेभन्दा गठबन्धन अगाडि रहेको हो । तर भुसालको पक्षमा गठबन्धन दलहरुको मत ट्रान्सफर हुने नहुने यकिन छैन ।

अर्घाखाँचीको निर्वाचन किन पनि रोचक छ भने दुवै जना राष्ट्रिय राजनीतिका चर्चित पात्र हुन् । भुसाल २०६४ सालको संविधानसभा निर्वाचनमा अर्घाखाँची २ बाट विजयी भएकी थिइन् भने २०७० मा अर्घाखाँची २ बाट डा. दुमन थापासँग पराजित भएकी थिइन् । २०७४ सालमा समानुपातिक सांसद बनेर उपसभामुखसमेत भएकी थिइन् ।

रायमाझीले २०६४ सालबाट लगातार चुनाव जित्दै आएका छन् । २०६४ र ०७० मा माओवादी केन्द्रबाट अर्घाखाँची १ मा जितेका उनलाई २०७४ मा एक मात्र निर्वाचन क्षेत्र भएपछि नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको साथ थियो । नेकपा विभाजन हुँदा माओवादी केन्द्र त्यागेर नेकपा एमाले रोजेका रायमाझी पटक पटक मन्त्री र उपप्रधानमन्त्री समेत बनिसकेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै रायमाझीले पूर्वाधार विकासका अधुरा काम सम्पन्न गर्न फेरि उम्मेदवारी दिएको बताए । उनले भने, ‘म १५ वर्षदेखि यहाँबाट निर्वाचित हुँदै आएको छु । सबै गाउँमा गाडी पुग्छ । विद्युतीकरण भएको छ । एक घर एक धारा पुगेको छ । अब हामी शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुन्छौं । मैले गरेको विकासको फेहरिस्त बताउने हो भने तीन महिना लाग्छ ।’

कार्यक्रममै भुसालले संविधानको रक्षा र समृद्धिको अभियानका साथै अर्घाखाँचीलाई नमुना जिल्लाका रुपमा स्थापित गर्ने एजेन्डा अघि सारेकी छन् । उनले थपिन्, ‘सुशासन नभएसम्म लोकतन्त्र बलियो हुँदैन । लोकतन्त्र बलियो नभएसम्म अधिकार पाइँदैन । अधिकार नपाएसम्म विकास हुँदैन ।’

कांग्रेस सरकारले सुरु गरेको सालझन्डी–ढोरपाटन सडकले १८ वर्षसम्म पूर्णता पाउन नसकेको आरोप पनि उनले लगाइन् । भुसालले भनिन्, ‘सांसद कोष भनेको गरिब जनताले एक ठेलागाडाले कर तिरेको अनि युवाले खाडीमा पसिना बगाएर पठाएको रेमिट्यान्सबाट चलेको छ । त्यो कोष समेत पारदर्शी गरिएको छैन । त्यसको प्रतिफल सबै जनताले पाउनुपर्छ ।’ अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यका लागि ११, प्रदेश सभा (क) का लागि ७ र प्रदेश सभा (ख) का लागि ७ जना उम्मेदवार छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot