Logo

निर्वाचनका लागि संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबाट ७० जनाको स्वतन्त्र उम्मेदवारी, यी हुन् मुख्य एजेण्डा



काठमाडौं, १८ कात्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबाट ७० जनाले संघ र प्रदेशमा उम्मेदवारी दिएका छन् । उनीहरु सबैले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएका हुन् ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मोर्चासँग वैचारिक निकटस्थ रहेका ७० उम्मेदवारको स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराइएको जानकारी दिइएको हो ।

मोर्चाबाट स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु अधिराज्य नेपाल, भ्रष्टाचारमुक्त नेपालको अठोट लिएको जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु अधिराज्य नेपाल, भ्रष्टाचार मुक्त नेपालको आर्थिक समृद्धिको नारा लिएर आफूहरु लामो समयदेखि सडकमा उत्रिदै आएको बताएका छन् । सडक मात्रै होइन संसद पनि प्रयोग गर्नुपर्ने आवश्यकता देखेर स्वतन्त्र रुपमा ३६ जिल्लामा उम्मेदवारी उठाइएको उनले स्पष्ट पारे ।

अहिले आफ्ना उम्मेदवारहरु जनताको घरघर पुगेर मत मागिरहेको उनको भनाइ छ । अध्यक्ष लुइटेलले मोर्चाले उम्मेदवारको क्षेत्रमा पुगेर आफ्नो मुद्दाबारे जनतालाई जानकारी दिने पनि बताए । दल र नेताहरुले देशलाई धर्म निरपेक्ष बनाएको भन्दै उनले देशमा हन्दुराष्ट्र फर्काउनका लागि चुनावमा भाग लिएको स्पष्ट पारे । संवैधानिक राजसंस्थासहितको आफूहरुले हिन्दुराष्ट्र फर्काउने प्रयास गरिरहेको उनको भनाइ छ । उनले भने,‘मुलुकको अस्तित्व जोगाउन पनि राजसंस्था चाहिन्छ ।’

लुइँटेलले स्वतन्त्र उम्मेदवारहरुलाई मात्र मतदान गर्न देशभरका मतदातासँग आग्रह गरे । देशमा वैदिक सनातन हिन्दुराष्ट्र कायम गर्न सबै जनता एकपटक सडकमा ओर्लनुपर्नेमा उनले जोड दिए ।

यसैगरी,सह–अध्यक्ष विष्णु भट्टराईले मोर्चाबाट निकटस्थ रही उम्मेदवारी दिएका ७० जनै स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन अपिल गरेका छन् ।
सत्तामा बसेका दलहरुलाई व्यंग गर्दै उनले कांग्रेस र माओवादीले जितेपनि सरकार बनाउन नसक्ने टिप्पणी गरे । उनले ठुला दलहरुले पनि संसदको ५१ प्रतिशत उम्मेदवार उठाउन नसकेको आरोप लगाए । २०७४ को चुनावमा ४ सय ९२ मात्र स्वतन्त्र उम्मेदवारी परेको स्मरण गराउँदै अहिले ८ सय ६७ जना स्वतन्त्रको उम्मेदवारी निर्वाचन आयोगमा परेको उनले बताए । उनले भने,‘यो उम्मेदवारीले यो राज्य व्यवस्था र संविधानप्रति नेपाली जनताको असहमति बढ्दै गइरहेको प्रष्ट भएको छ । राज्य व्यवस्थाप्रति वितृष्णा बढेर गएको छ ।’

उनले ९० प्रतिशत नेपाली जनताको सहभागितामा बनाएको संविधान परमादेशको सरकारबाट चीररहरण गरेको समेत टिप्पणी गरे । आगामी निर्वाचनका लागि नेपाली जनतालाई विभिन्न कुराको अबगत गराउने उद्देश्यबाट मोर्चाले विचारसँग मिल्ने स्वतन्त्र उम्मेदवारहरुलाई उठाएको उनले स्पष्ट पारे । उनले संवैधानिक राजसंस्था, हिन्दुराष्ट्र र अखण्ड नेपालको पक्षधरका शक्तिहरुको बीचमा सहकार्यको निमित्त उम्मेदवारी दिइएको सुनाए ।

त्यस्तै, उपाध्यक्ष अमर केसीले आफूहरु अहिले व्यवस्थाविरुद्ध उभिएको बताए । जनतामाझ आफूहरुको मुद्दा लैजानको लागि चुनावमा उम्मेदवार उठाएको उनको भनाइ थियो । उनले अहिलको दलीय गठबन्धनले देश समाप्त पार्ने दिशामा गइरहेको पनि उनको आरोप छ । उनले चुनावलगत्तै सडक संघर्षमा गएर मुद्दा स्थापित गर्ने पनि जानकारी दिए । कार्यक्रमको सञ्चालन रघुनाथ न्यौपानेले गरेका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्