तौलिहवा, कात्तिक १८ । नेपाली कांग्रेसका पाल्पा क्षेत्र नम्बर २ ‘क’का उम्मेद्वार वीरबहादुर रानाले आगामी लुम्बीनी प्रदेश सरकारको नेतृत्व आफुले गर्ने बताएका छन् । मंसिर ४ गतेको निर्वाचन अत्याधिक मतसहित गठबन्धनले जित्ने र लुम्बीनी प्रदेशमा त्यसको नेतृत्व आफुले गर्ने उनको दाबी छ ।
प्राइम टाइम्स टेलिभिजनको चुनावी महासंग्राम कार्यक्रममा सहभागी हुँदै उनले केन्द्रदेखी प्रदेश सबैमा काँग्रेस नेतृत्वकै सरकार बन्ने बताउदै आँफु लुम्बीनी प्रदेशको मुख्यमन्त्री हुने बताए । आम मतदातामा राजनीतिप्रति वितृष्णा पैदा भएकोले दलहरुप्रतिको विश्वास गुम्दै गएको समेत उनको भनाई छ ।
संघीयतामा प्रदेश बलियो हुने व्यवस्था भएपनि दल र दलका नेताहरुको कार्यशैली नसुध्रिदाँ प्रदेश र संघीयताप्रति नै वितृष्णा पैदा भएको बताउँदै उनले राजनैतिक दलको विकल्प नभएकोले यो निर्वाचनमा योग्य र दक्ष व्यक्ति चयन गर्न आम मतदातालाई आग्रह गरे ।
राजनीति समर्पण हुनुपर्नेमा पेशा बनेको उल्लेख गर्दै उनले यसलाई चिर्न पनि आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी रहेको बताए । अघिल्लो पटक लुम्बिनी प्रदेशमा छोटो कार्यकालका लागि मन्त्री बनेपनि पाल्पामा उल्लेख्य काम गरेको दाबी गर्दै उनले यसपटक पनि आफ्नो जित सुनिश्चित रहेको जनाएका छन् ।
अघिल्लो कार्यकालमा २०३८ सालबाट शुरु भएर अलपत्र परेको कचल सिँचाईं फाट आयोजनाको पूर्णता पाएको उनले बताए । त्यस्तै, पाल्पामा सिँचाईं बिस्तार र ग्रामिण सडकलाई बाह्रै महिना नियमित चल्ने बनाउने आफ्नो पहिलो प्राथमिकताामा रहेको उनको भनाई छ ।
राना यसअघि लुम्बिनी प्रदेशको सिँचाईं मन्त्री भइसकेका छन् भने नेपाली कांग्रेस पाल्पाको दुई कार्यकाल सभापति पनि सम्हालिसकेका छन् ।