Logo

को प्रधानमन्त्री बन्छ, अहिले भन्ने बेला भएको छैन तर कांग्रेसमा देउवाको विकल्प छैनः बालकृष्ण खाँड



काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसका नेता, गृहमन्त्री एवं रुपन्देही ३ का उम्मेदवार बालकृष्ण खाँडले पाँच दलीय गठबन्धनको नेताको हैसियतमा शेरबहादुर देउवाले नै प्रधानमन्त्रीमा निरन्तरता पाउन सक्ने बताएका छन् ।

‘शेरबहादुर देउवा नेपाली कांग्रेसले मात्र चाहेर प्रधानमन्त्री बन्नुभएको होइन । गठबन्धन दलहरुले भन्दा पनि देउवाले मान्नुभएको थिएन । धेरै नै कर गरेपछि प्रधानमन्त्री हुनुभएको हो । देउवामाथि गठबन्धनका नेताहरुको धेरै नै भरोसा र विश्वास छ । नेताहरुलाई सम्मान र दलहरुबीच समन्वय गर्न सक्ने विशिष्ट क्षमताका कारण उहाँलाई नेता मानेको हो । उहाँमा लचकता, दृढता र स्पष्टता छ । उहाँ जे कुरा भन्नुहुन्छ, त्यो कुरा गरेर छाड्नुहुन्छ । तर आगामी सरकारमा यही मान्छे, यही नेता प्रधानमन्त्री हुन्छ भन्ने बेला भएको छैन । प्रधानमन्त्रीमा अहिलेकै निरन्तरता पनि हुन सक्छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खाँडले भने ।

‘लोकतन्त्रमा हराउने अभियान चलाउन पाइन्छ’
देशभरि शीर्ष नेताहरुलाई हराउने अभियान चलेको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘निर्वाचनमा स्वतन्त्र उठ्न पाइयो, शीर्ष नेताहरुलाई हराउने अभियान चलाउन पनि पाइयो । लोकतान्त्रिक शासन व्यवस्थामा सबैलाई आआफ्ना विचार सम्प्रेषित गर्ने अधिकार छ । त्यसका लागि नै हामी जेलनेल गयौं, कैयौं साथीहरु सहिद भए । नेता जनताले जन्माउने हो । जनताले पत्याएका व्यक्ति नै नेता भएका छन् । हामीले दल र नेताहरुलाई मात्र होइन, हाम्रा विरुद्ध रहेकालाई पनि लोकतन्त्र ल्याएका हौं ।’

‘देउवा दोब्बर मतान्तरले जित्नुहुन्छ’
गृहमन्त्री खाँडले देउवाले दोब्बर मतान्तरले जित्ने पनि दाबी गरे । उनले भने, देउवालाई जिताउने कि नजिताउने डडेलधुराबासीको कुरा हो । कसैले हल्ला गर्दैमा जनताले त्यही पत्याउँछन् भन्ने पनि होइन । मलाई जानकारी भएसम्म देउवाले यसपटक डबलभन्दा बढी भोटले जित्नुहुन्छ । डेडलधुरामात्र होइन देशभरि नै पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरु नै अगाडि छन् ।’ कांग्रेसमा देउवाको विकल्प नभएको पनि उनले बताए ।

‘कांग्रेस सबैभन्दा ठूलो पार्टी, गठबन्धनको सरकार’
साथै उनले मंसिर ४ पछि कांग्रेस सबभन्दा ठूलो पार्टी बन्ने पनि ठोकुवा गरे । खाँडले भने, ‘देशको गृहमन्त्रीलाई कुन कुन क्षेत्रमा कसले जित्दै छन् भन्ने थाहा हुन्छ । तर मैले अहिले नै भन्दा कतिपय उम्मेदवारलाई अन्याय हुन सक्छ । यसबारे म तपाईंलाई मंसिर ४ गते साँझ भनिदिन सक्छु । तर कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ । प्रतिनिधिसभामा एक सयभन्दा बढी सिट ल्याउँछ । गठबन्धनले कम्फर्टटेबल बहुमतसाथ सरकार बनाउँछ । सातै प्रदेशमा गठबन्धनको अग्रता हुन्छ ।’

‘ओलीले जनभावनाको कदर गर्नुभएन’
एमाले अध्यक्ष केपी शर्मा ओलीले त गठबन्धन सरकार धाँधलीको तयारीमा लागेको आरोप लगाउनुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा गृहमन्त्री खाँडले भने, ‘ओलीजीका बारेमा म कुनै टिप्पणी गर्दिनँ । कञ्चनपुर र दार्चुलामा के-के भन्नुभयो, त्यो उहाँका कुरा हो । सबैलाई अभिव्यक्ति स्वतन्त्रता छ । तर नेताले बोल्दा जनभावनाको पनि कदर गर्नुपर्छ । अविश्वास बढाउने काम गर्नुहुँदैन । तर निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयमुक्त हुने कुरामा ओलीजी ढुक्क भए हुन्छ । स्थानीय तहको निर्वाचन एकै चरणमा शान्तिपूर्ण सम्पन्न रुपमा गरेको उहाँले देख्नुभएकै छ । जहाँसम्म धाँधलीको कुरा हो, २०४६ को जनआन्दोलनपछिको पहिलो निर्वाचनमा हाम्रा सभापति एवं लोकप्रिय प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नै पराजित भएको दृष्टान्त छ । २०७४ मा कांग्रेसका ठूलठूला नेताहरु पराजित भएको पनि उदाहरण छ । यसबारे ओलीजी र मलाई आमने-सामने राख्नुस्, अनि थाहा हुन्छ ।’

‘एमालेले दुई दर्जन सिट पनि जित्दैन’
एमालेले एकल बहुमतको कुरा गरिरहेको छ नि भन्ने अर्को प्रश्नमा उनले भने, ‘सरकार बदल्ने वा बनाउने अधिकार जनतालाई छ । स्थानीय तहमा कांग्रेस सबभन्दा ठूलो पार्टी भएको छ । व्यवस्था बलियो बनाउने र जनताको अवस्था बदल्ने हाम्रो मिसन हो । सबैभन्दा काविल र सक्षम व्यक्तिलाई जनताले जिताउँछन् । अधिकांश ठाउँमा गठबन्धनका साझा उम्मेदवारहरुले नै जित्छन् ।’ अहिलेको परिस्थितिमा एमाले दुई दर्जन सिटमा पनि अग्रस्थानमा नरहेको उनले दाबी गरे ।

‘जनताको मन र मत दुवै जित्छु’
खाँडले रुपन्देही ३ मा आफ्नो प्रतिस्पर्धा एउटा उम्मेदवारसँग मात्र नभएको बताए । उनले भने, ‘मलाई रुपन्देहीका जनताले परिवारको सदस्य जस्तै गरेर माया गरिरहनुभएको छ । मलाई अनन्त शुभकामना दिइरहनुभएको छ । मैले जनताको मत मात्र होइन, मन पनि जितिरहेको छु ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot