काठमाडौं, कात्तिक १९ । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङ २ का उम्मेदवारहरूले जिल्लाको आर्थिक विकास र समृद्धिसहित बुढीगण्डकी जलविद्युत् परियोजनालाई मुख्य चुनावी नारा बनाएका छन्।
२०७३ सालदेखि मुआब्जा वितरण सुरु भए पनि बुढीगण्डकी आयोजनाको भविष्य अझै अन्योलमा छ। तर धादिङ २ का उम्मेदवार भने यसै परियोजनामार्फत समग्र जिल्लाको अवस्था फेर्न आफू लागिपर्ने भन्दै मतदातासँग भोट माग्न सक्रिय छन्।
राजधानी काठमाडौंसँग जोडिएर पनि बत्तीमुनिको अध्याँरोजस्तै रहेको धादिङमा कृषि, पर्यटनका माध्यमबाट रोजगारी सिर्जना गर्दै जिल्लालाई समुन्नत बनाउने प्रतिबद्धता पनि उम्मेदवारहरूले मतदातामाझ जनाइरहेका छन्। पृथ्वी राजमार्गदेखि झन्डै १० किलोमिटर उत्तर (च्याडु) देखि गणेश हिमालसम्म धादिङको दुई नम्बर क्षेत्रमा पर्छ।
अहिले पनि कतिपय गाउँ र बस्तीमा पुग्न घोरेटो बाटोसमेत निर्माण हुन सकेको छैन। प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धनबाट विगतदेखि नै जिल्लाको नेतृत्व गर्दै आएका नेताहरू फेरि पनि मैदानमा छन्। आफ्नो क्षेत्रमा मात्र नभएर सिंगो जिल्लाकै विकासका लागि भन्दै दुवै गठबन्धनका उम्मेदवार जनतासँग मत माग्दैछन्।
सत्ता गठबन्धनबाट धादिङ कांग्रेसका सभापति रामनाथ अधिकारी र विपक्षी गठबन्धनबाट एमाले केन्द्रीय कमिटी सदस्य खेम लोहनी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । नागरिक दैनिकबाट