Logo

निर्वाचनपछि पनि देउवाकै नेतृत्वमा सरकार बन्छ, आलोपालोबारे पार्टीले निर्णय लिन्छ : भरत शाह (भिडिओसहित)



काठमाडौं, १९ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता भरत शाहले आगामी निर्वाचनपछि पनि मुलुकको नेतृत्व आफ्नो दलले गर्ने बताएका छन् । मंसिर ४ गतेको निर्वाचनपछि पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने उनको दाबी छ । आज (शनिबार) विहान प्राइम टिभीको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पाँच दलीय गठबन्धन लामो समयसम्म जाने पनि दाबी गरे ।

उनले भने,‘गठबन्धन गर्दा मत केही तलमाथि होला, तर अहिले गठबन्धनमा हामी एक भएर गएका छौं । १६५ सिटमा लड्ने पार्टी ९१ सिटमा लड्दा केही न केही त घाटा नै भयो । किनकी समानुपातिकमा पनि घट्ला, अन्यपनि घट्ला । तर त्यही पनि गठबन्धन हो । यसलाई मिलाएर जानुपर्छ । संयुक्त सरकार बनाएर जानुपर्छ ।’ शाहले पार्टी सभापति देउवाकै नेतृत्वमा चुनावपछि संयुक्त सरकार बन्ने ठोकुवा गरे ।

उनले नयाँ अनुहारलाई देशको नेतृत्व गर्न दिनुपर्ने भन्ने आवाज उठ्नु स्वभाविक रहेको सुनाए । तर, देश चलाउनको लागि देउवाजस्तो परिपक्व नेताको आवश्यकत्ता रहेको उनको जिकिर छ । उनले भने,‘देश चलाउनको लागि राजनीतिमा केही न केही त अनुभव र परिपक्वता त चाहिन्छ नि ।’

उनले गठबन्धन दायाँ र बायाँ फर्किएको भन्दै देउवाले मिलाएर लैजाने सुनाए । देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको हो भने पार्टीबाट निर्णय हुने सुनाए । उनले देशमा विद्यमान सबै पार्टीभित्र समस्या रहेको स्विकारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot