काठमाडौं, कात्तिक २० । सरकारले निर्वाचन बिथोल्न सक्ने खतरादेखिका विभिन्न २३ शक्तिमाथि उच्च निगरानीमा राखेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने निर्णय गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलसहित २३ विभिन्न शक्तिलाई उच्च निगरानीमा राखेको हो ।
सो समूहले गत मंगलबार पत्रकारसम्मलन नै गरेर निर्वाचन विथोल्ने निर्णय गरिसकेको छ भने अन्य समूह पनि छिटपुट रूपमा निर्वाचन विथोल्न भित्राभित्रै सक्रिय रहेको सूचना सरकारी संयन्त्रसँग छ ।
सोही सूचनाका आधारमा गृह मन्त्रालयले ती समूहलाई उच्च तहको निगरानीमा राख्न सुरक्षा निकायलाई निर्देशन गरिसकेको छ भने निर्वाचनलाई लक्षित गरेर तयार गरिएको सुरक्षा रणनीतिलाईसमेत सूक्ष्म रूपमा बदल्ने नीति सरकारको छ । सोबारे निर्वाचन आयोगलेसमेत तयारी भइरहेको र आयोग सचेत रहेको बताएको छ ।
‘विभिन्न २३ समूह चुनाव विथोल्ने रणनीतिमा रहेको सूचना आएको छ, माओवादीबाट टुक्रिएका शक्ति नै दुई÷तीनवटा छन्, अन्य ८÷१० जना व्यक्ति रहेका समूह पनि छन्, ती सबै शक्ति र समूह उच्च निगरानीमा छन्,’ गृह मन्त्रालय उच्च भन्यो ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शनिबार विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमासमेत सो विषयबारे मुख खोलेका थिए ।
उनले केही शक्तिले निर्वाचन बहिष्कार र केहीले निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न हुन नदिनेसम्मको योजना बनाएको भनेका हुन् । तर निर्वाचन विथोल्न सक्ने जुनसुकै शक्तिलाई सरकारले निगरानीमा राखिसकेको उनले स्पष्ट पारेका छन् । राजधानी दैनिकबाट