Logo

गठबन्धनलाई मिलाउन सक्ने नेता देउवा मात्रै होः भरतकुमार शाह



काठमाडौं, २० कात्तिक । नेपाली कांग्रेसका नेता एवं रुपन्देही ५ का भरतकुमार शाहले गठबन्धन दलहरुलाई मिलाउन सक्ने नेता नै प्रधानमन्त्री बन्ने बताएका छन् ।
‘नयाँ अनुहार चाहिन्छ भन्नु पनि सही हो । उनीहरुले गर्नै सक्दैनन् भन्ने पनि होइन । अहिले हाम्रो गठबन्धन छ । सबैलाई मिलाउन सके मात्र गठबन्धन सरकार चल्छ । हाम्रा केही जटिल समस्याको समाधान नयाँ अनुहारले समाधान गर्न सक्छन् कि सक्दैनन् ? यसमा अनुभव र परिपक्वता जरुरी हुन्छ । देउवाको नेतृत्वमा नागरिकता विधेयक, एमसीसी पास भयो । अब संसदीय दलमा कसले जित्छ ? गठबन्धनले के भन्छ ? त्यस आधारमा प्रधानमन्त्री हुने हो । मेरो सामान्य बुझाइमा शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनुहुन्छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शाहले भने ।
उनले रुपन्देही ५ मा आफ्नो विजय निश्चितप्रायः रहेको पनि बताए । शाहले थपे, ‘२०४८ र २०५१ मा हारेपछि पार्टीले २०५६ मा मलाई यहाँ पठाएको हो । त्यसयता लगातार जित्दै आएको छु । २०७४ मा वाम गठबन्धन हुँदा नै मैले १३ हजार ५ सयको मतान्तरले जितेको हुँ । अहिले त हामी पनि गठबन्धनमै छौं । यस क्षेत्रका चार वटामध्ये तीन पालिका कांग्रेसले जितेको छ । अहिले पहिलेभन्दा राम्रो मतले जित्ने मेरो अनुमान छ ।’
आफूलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँडको राम्रो सहयोग रहेको पनि शाहले बताए । उनले भने, ‘बालकृष्णजी र मेरो सम्बन्ध राम्रो छ । हामी मिलेका छौं । मेरो क्षेत्रमा अहिलेसम्म कुनै अन्तर्घात भएको छैन । मैले खराब काम गरेको भए जनताले भोट दिँदैनथे । देशभरि विकास भएको १० निर्वाचन क्षेत्र छान्दा रुपन्देही ५ पनि पर्छ ।’
उनले गरिब, किसानको समस्यामा आफ्नो प्राथमिकता रहेको औंल्याउँदै लुम्बिनी गुरुयोजना पूरा गरेपछि यस क्षेत्रको कायापलट हुने दाबी पनि गरे । शाहले भने, ‘लुम्बिनी गुरुयोजना पूरा गर्न बाँकी छ । अहिले सालना १२ लाख मानिस आउँछन् । अब सालना २ करोड पर्यटक भित्र्याउन सके व्यापार व्यवसायमा वृद्धि हुन्छ । रोजगारी सिर्जना हुन्छ । त्यसका लागि पूर्वाधार विकास आवश्यक छ ।’ साथै उनले गुणस्तरीय र प्राविधिक शिक्षा र निःशुल्क स्वास्थ्य सुविधामा पनि जोड दिए ।

 



प्रतिक्रिया दिनुहोस्