Logo

देशको समृद्धि, उन्नती र विकासका लागि कांग्रेसलाई भोट : उमेश श्रेष्ठ



चितवन, २० कात्तिक । चितवन क्षेत्र–२ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उमेश श्रेष्ठले नेपालमा रोजगारीको प्रशस्त सम्भावना रहेको बताएका छन् ।

नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त रुपमा चितवनमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले सर्वसुलभ शिक्षा, स्वास्थ्य र नेपालमै युवाहरुलाई रोजगारी सृजना गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताए ।

उनले भने,‘नेपाल सम्भावना नै सम्भावना भएको मुलुक हो, नेपालमै रोजगारी सृजना हुनुपर्छ, शिक्षा र स्वास्थ्यलाई पहिलो नम्बरमा प्राथमिकता दिनुपर्छ ।’ विशेष गरी समाज र युवाहरुको सेवा गर्न आफू राजनीतिमा प्रवेश गरेको उनले थप स्पष्ट पारे । उनले भने,‘विद्यार्थीहरुलाई सर्वसुलभ शिक्षा दिने, देशमै रोजगारी श्रृजना गर्ने/गराउने प्रयत्नमा म लागेको छु ।’

श्रेष्ठले संविधानको रक्षा र सरकार बनाउनको लागि गठबन्धन गर्नुपरेको जिकिर पारे । सुझबुझका साथ आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई भोट दिन उनले विद्यार्थीहरुसँग आग्रह गरे । देशको समृद्धि, उन्नती, विकासको लागि कांग्रेसलाई भोट दिनुपर्ने उनको भनाइ थियो । आफू पनि शिक्षा क्षेत्रबाटै स्थापित र सफल भएकाले युवाहरू शिक्षित र उद्यमशील हुनुपर्नेमा उनले जोड दिए।

देश बनाउने जिम्मेवारी र दायित्व युवाको भए पनि दैनिक २ हजार हाराहारी युवाहरू विदेशिनुपर्ने दुःखद विषय भएको उनको धारणा छ।
उनले कोभिड महामारीको समयमा आफू राज्यमन्त्री भएर जनताको सेवा गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्