Logo

चुडामणि शर्माको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश



काठमाडौं, कात्तिक २१। विशेष अदालतले कर फस्र्योट आयोगमा रहँदा भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेपिरहेका चुडामणि शर्माको मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र यमुना भट्टराईको संयुक्त इजलासले अन्तिम सुनुवाइ थाल्नुअघि आवश्यक मिसिल मगाउने आदेश गरेको हो ।

विशेषले कर फस्र्योट आयोगको फाइलसहित अन्य मिसिल पेस गर्न सरकारको नाममा आदेश गरेको छ । कर फस्र्योट आयोगमार्फत राजस्व हिनामिना गरेको अभियोगमा आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक शर्मासहित तीन जनाविरुद्ध दायर १० अर्ब रुपैयाँको मुद्दा दायर भएको थियो ।

सरकारले शर्मासहित कर फस्र्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध पनि राजस्व अपचलनको मुद्दा दायर गरेको थियो । उनीहरूले कर फस्र्योट आयोगमार्फत १० अर्ब २ करोड १७ लाख भ्रष्टाचार गरेको अभियोगपत्रमा दाबी गरिएको छ । उनीहरूविरुद्ध १ साउन २०७४ मा राजस्व अपचलन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएकोे थियो । अदालतमा मुद्दा दायरपछि उनीहरू जनही १÷१ करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

अख्तियारले कुल १ हजार ६९ फाइलमध्ये पहिलो चरणमा ४५ फाइलमाथि अनुसन्धान टुंग्याउँदै मुद्दा दर्ता गरेको थियो । आयोगले शर्मा, कर फस्र्योट आयोगका अध्यक्ष महत र सदस्य ढकालसँग गुमेको राजस्व बिगोमार्फत असुल हुनुपर्ने दाबी गरेको थियो । अख्तियारको अनुसन्धानमा हिरासतमा रहँदा सर्वोच्चको आदेशले छुटेपछि शर्माले अदालत र अख्तियारलाई अटेर गर्दै आएका छन् । अख्तियारको अनुसन्धानको समयमा ढकाल र महत भने फरार थिए । विशेषमा मुद्दा दर्ता गर्दासमेत फरार रहेका उनीहरूको ठेगानामा अदालतबाट मुद्दाको म्याद तामेली भएपछि अदालत उपस्थित भएका थिए ।

यस्तै, शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अकुत सम्पत्तिसम्बन्धी दोस्रो मुद्दा पनि साथै राखेर सुनुवाइ गरिरहेको छ । राजस्व चुहावट मुद्दामा विशेष अदालतले अन्तिम फैसलाको तयारी गरिरहेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्