Logo

एमाले तेस्रो पार्टी बन्ने वर्षमान पुनको दाबी (भिडिओसहित)



काठमाडौं, २१ कात्तिक । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं रोल्पाका प्रतिनिधिसभा उम्मेदवार वर्षमान पुनले मंसिर ४ को निर्वाचनपछि नेकपा एमाले तेस्रो पार्टी बन्ने दाबी गरेका छन् । ‘आगामी निर्वाचनपछि नेकपा माओवादी केन्द्र प्रतिनिधिसभाको प्रत्यक्षमा ३५ भन्दा माथि र समानुपातिकमा २० भन्दा माथि सिट ल्याएर दोस्रो पार्टी बन्छ । एमालेले प्रत्यक्षमा २० सिट पनि जित्दैन । एमाले तेस्रो पार्टी हुन्छ । एमाले प्रमुख प्रतिपक्ष हुन्छ । हामी उसलाई पनि साथै लिएर हिँड्छौं,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पुनले भने ।

गठबन्धनका पक्षमा निर्वाचनको माहोल बनेकाले दुई तिहाइ बहुमतका साथ सरकार बन्ने पनि उनले ठोकुवा गरे । पुनले थपे, ‘हामीले सोचे जसरी शतप्रतिशत ट्रान्सफर नहोला । तर गठबन्धन ठीक छ भन्ने लहर आउँदै छ ।’

निर्वाचनपछि शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच तीन जना आलोपालो प्रधानमन्त्री खाने सहमति भएको हो भन्ने धमलाको प्रश्नमा पुनले भने, ‘नेताको रहरले मात्र प्रधानमन्त्री हुने होइन । हामी समझदारीमै प्रधानमन्त्री तय गर्छौं । पाँच वर्ष गठबन्धन तल-माथि नहुने गरी र जनताको वाचा पूरा हुने गरी काम गर्छौं ।’ गठबन्धन सरकारको १८ महिना केपी ओलीले बिगारेको कुरा स्याहार्न नै समय लागेको पनि उनले बताए ।

जनप्रतिनिधिका रुपमा आफूले रोल्पाको विकासमा चमत्कार नै गरेको पनि उनको दाबी छ । पुनले भने, ‘म जिल्लामा नियमित आउने भन्दा पनि आवश्यकता पर्दा आएको छु । मैले जिल्लालाई बिर्सेको छैन । छाडेको पनि छैन । रोल्पाको प्रतिनिधित्व गर्दै विकासको काम अघि बढाएको छ । १०, १२ वर्षअघिसम्म कुनै ठाउँमा सडक थिएन । सबै वडाको केन्द्रमा सडक पुगेको छ । अहिलेको बाटो हेर्दा चमत्कार भन्नुपर्ने हुन्छ ।’

रोल्पामा विकासका काम क्रमशः भइरहेको पनि उनको दाबी छ । उनले भने, ‘सडकको अवस्था विगतभन्दा राम्रो छ । तर अझ अगाडि बढ्नु छ । हजारौंका संख्यामा चल्ने टिपरका कारण सडकमा केही समस्या छ । तर पहाडी लोकमार्गको खण्ड चाँडै पूरा गर्दैर्छौं । भौतिक पूर्वाधार र मानवीय पूर्वाधार विकासलाई सँगसँगै लैजाने । क्रममा सबै पालिकामा १५ बेडको अस्पताल बन्दै छन् । धेरैजसो ठाउँमा एक घर एक धारा पुगेको छ । लिफ्ट सिँचाइ चलेका छन् । कृषिमा आधारित आत्मनिर्भर उत्पादन भएकाले रोजगारीको त्यति समस्या छैन । अहिले ७० प्रतिशत घरमा विद्युत् पुगेको छ ।’

नेता पुनले आफ्नो स्वास्थ्यमा सामान्य समस्या भए पनि स्वस्थ रहेको पनि बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot