Logo

पाँच ट्रेड युनियन महासंघद्धारा चुनाव बहिस्कार गर्ने घोषणा (भिडियोसहित)



काठमाडौं, २१ कात्तिक । चुनाव बहिस्कार गर्ने विभिन्न पार्टी निकटका पाँच ट्रेड युनियन महासंघहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन् ।

आज (सोमबार) रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संयुक्त ट्रेड युनियन संघर्ष समितिले आगामी चुनावबाट निस्कने परिणाम घोर प्रतिक्रियावादी एवं राष्ट्रियता,जनतन्त्र र जनजीविकाविरुद्ध हुने जनाएको छ ।

क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघले संयुक्त रुपमा चुनाव बहिस्कार घोषणा गरेका हुन् ।
निर्वाचनको नाममा साम्राज्यवाद–विस्तारवादका दलाल एवं थैलिपतिहरुद्धारा गरिएको फगत कार्टेलिङ प्रहसन मात्र भएको युनियनहरुको ठहर छ ।

ट्रेड युनियन संघर्ष समिति श्रमिकवर्गका मुक्ति, न्याय र समानताका निम्ति अधिक कठोर संघर्षको नेतृत्व गर्न पनि दृढ रहेको बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष राजन तिमिल्सिनाले देश अत्यन्तै संकटग्रस्त अवस्थामा गुज्रिरहेको बताएका छन् । संकटका कारण मुलुकमा रोजगारी श्रृजना गर्न र व्यापार व्यवसायहरु बढाउन नसकेको बताए । उनले भने,‘व्यापार व्यवसायहरु टाट पल्टेका छन्, बैंक वित्तिय संस्थाहरु चल्नै नसक्ने अवस्थामा रहेका छन् र उनीहरुको दैनिक कारोबार बन्द भइसकेका छन् तैपनि शासक वर्गहरुले कथित निर्वाचनको नाटक देखाइरहेका छन् ।’

उनले अहिलेको निर्वाचन प्रणाली पैसा खर्च नगरी कुनै पनि प्रतिफल लिन नसकिने अवस्थामा पुगेको बताए । राजनीतिमा अस्वस्थ्य ढंगको प्रतिस्पर्धा भइरहेको उनको भनाइ थियो ।

यसैगरी,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष बिनोद थापाले मंसिर ४ गते हुने निर्वाचन नेपाली जनताको लागि उपयुक्त नभएको टिप्पणी गरेका छन् । चुनाव जितेपछि गाउँ नर्फकने नेताहरु अहिले झोली बोकेर गाउँ–गाउँ पुगिरहेको उनले सुनाए ।

अहिलेको व्यवस्थालाई दलालको संज्ञा दिँदै उनले सोही राजनीतिक व्यवस्था विगत ३० वर्षदेखि देशमा कायम भइरहेको उनको भनाइ थियो ।
विभिन्न दलका नेताहरुले मजदुरहरुलाई झुटा नारा दिएर झुक्काइरहेको भन्दै उनले दुखेसो पोखे । एमसीसी, एसपीपी समर्थन गर्नेहरु नक्कली प्रतिवद्धतापत्र लिएर जनतामाझ गइरहेको भन्दै उनले जनताले चुनाव वहिस्कार गर्नुपर्ने धारणा राखे । उनले भने,‘चुनावमा भोट दिनु भनेको फेरी ५ वर्ष देशलाई भुमरीमा पार्नु हो ।’

मजदुरले न्याय नपाएसम्म आफूहरुको आन्दोलन जारी रहने समेत उनले स्पट पारे । मजदुर वर्गको हितमा काम नगर्ने नेताहरुलाई गाउँबाट लखेट्नुपर्ने बताए । देशभरका ट्रेड युनियनहरु मंसिर ४ गते हुने निर्वाचनको खारेजीमा जुट्नुपर्ने र मजदुरहरु घरमा हात बाँधेर बस्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै, अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव राजकुमार थापाले पार्टीहरुकै कारण मजदुरहरुलाई विभाजन हुनु परेको दाबी गरेका छन् । मजदुरहरुको समस्या समाधान गर्ने वाचा गरेका नेतृत्वले आजसम्म आफूहरुको पक्षमा केही काम नगरेको बताए । उनले भने,‘मजदुर वर्गकै भोटबाट मन्त्री भएका हरुले पनि हामीहरुकै समस्या समाधान गर्न सकेनन् ।’

आफूहरुले चुनेर पठाएका नेतृत्वहरुले मजदुरका समस्या हल नगरेको, मजदुरमाथि भएका अन्याचारविरुद्ध केही नबोलेको उनले आरोप लगाए । उनले भने,‘सम्पुर्ण मजदुर एकताबद्ध हुनु महत्वपुर्ण आवश्यकता छ । गाउँमा भोट माग्न आउने नेताहरुलाई गाउँबाट लखेटेर मजदुर, वृद्धिजिवि,किसान सहितको नयाँ सरकार बनाउनुपर्छ ।’ मंसिरमा हुने निर्वाचनलाई नौटकींको संज्ञा दिँदै उनले भने,‘आगामी निर्वाचन, न त नीतिमा छ, न त सिद्धान्तमा छ, न त वैचारिक रुपमा छ, जसरी हुन्छ चुनाव जित्ने र विदेशीको इशारामा हिड्ने र देश बेच्न मात्रै उद्देश्य छ ।’ चुनाव बहिस्कार गर्नुको विकल्प नरहेको उनले बताए ।

टिका घिमिरेले आगामी चुनाव जनताको हितमा नरहेको भन्दै शसक्त बहिस्कार गर्नुपर्ने बताए ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले मंसिरमा हुने निर्वाचनलाई सात पार्टीले बहिस्कार गरेको दाबी गरेका छन् । अहिले प्रजातन्त्र बदनाम र मुठ्ठी भरका पुँजीपति वर्गको राज्यसत्तामा पकड जमाउने माध्यम भएको उनले टिप्पणी गरे । प्रजातन्त्रमा लामो समयदेखि मजदुरवर्गलाई उपेक्षा गरिदै आएको भन्दै उनले आगामी निर्वाचनमा मजदुर वर्गको प्रतिनिधित्व नभएको दाबी गरे ।

मजदुरको प्रतिनिधित्व नभएपछि मजदुर वर्गले निर्वाचनलाई स्वीकार गर्न नसक्ने उनले थप स्पष्ट पारे । ६० लाख भन्दा बढी बिदेश भएका मजदुरलाई मतदान गर्ने व्यवस्था नभएको भन्दै निर्वाचन वहिस्कार गर्नुको विकल्प नरहेको बताए ।
कार्यक्रमको सञ्चालन वसन्त बोगटीले गरेका थिए ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot