Logo

‘आफू चुनाव जित्ने अनि अर्जुन जोशीले केही गरेन, कांग्रेसले केही गरेन भन्दै हिँड्ने ?’



काठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेसका पर्वतका प्रतिनिधिसभा उम्मेदवार अर्जुनप्रसाद जोशीले आफू जितेर सरकार बनाउँदा पनि एमालेले केही विकास गर्न नसकेको बताएका छन् ।
‘हामी जनताको बीचमा छु । मेरो सक्रियतामा खनिएका बाटामा हिँडेका छौं, हामीले बाँडेका बिजुली बालेका छौं, आफैंले बनाएको धाराको पानी खाएका छौं । २०५६ मा म सबै गाविसमा खुट्टाले हिँडेर गएको थिएँ, २०७० मा आइपुग्दा सबै ठाउमा गाडी चढेर गएका छौं । विकट भूगोलको पर्वत २०७० सालमै मानव विकास सूचकांकमा १० औं नम्बरको जिल्लामा परेको थियो । तर २०७४ यता पर्वतमा पहिले जे योजना बनेका थिए, ती अघि बढेनन् । भएका पनि व्यवस्थित भएनन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै जोशीले भने ।
चुनाव हार्दा पनि जनताले आफूसँगै अपेक्षा गरेको पनि उनले सुनाए । जोशीले थपे, ‘दुर्भाग्य के हो भने मैले हार्दाखेरि पनि जनताको अपेक्षा मसँगै हुन्छ । तर जित्ने मान्छेसँग कुनै अपेक्षा गरिँदैन । म जनतासँग सकिनँ भने पनि सकिनँ भन्छु । यसो गरें, उसो गरें भन्दिनँ । जिल्लाबासी साक्षी छन् । जनताले मसँग धेरै नै भरोसा गरेका छन् । अर्जुन जोशी आएपछि भत्किएका बाटो बन्छन्, पक्की पुल बन्छन् भन्ने छ । म अरुलाई दोष दिएर राजनीति गर्दिनँ । आफू चुनाव जित्ने अनि अर्जुन जोशीले केही गरेन, कांग्रेसले केही गरेन भन्दै हिँड्न मिल्छ ?’
एमालेले ठीक र बेठीक भनेका आधारमा मूल्यांकन हुन नसक्ने पनि जोशीले औंल्याए । उनले भने, ‘एमालेले कहाँ विकास गरेको छ ? पर्वतबाहिर कतै विकास भयो होला, नेपालबाहिर भयो कि ? पर्वतमा रेल-पानीजहाज आएन । चुलोमा ग्यास पाइप, हावाको बिजुली, ओछ्यानमा खानामा पुगेको छैन । एमालेले के भन्छ भन्ने कुरामा म जान चाहन्नँ । जनताले के भन्छन् ? त्यो सुन्छु । म जनतासँग मात्र जवाफदेही छु ।’

सडक, कृषि र पर्यटनमार्फत समृद्ध र आत्मनिर्भर पर्वत बनाउने कुरामा आफ्नो प्राथमिकता भएको पनि उनले बताए । जोशीले भने, ‘पर्वतको विकासको आधार खडा भएको छ । जनताले समृद्ध र आत्मनिर्भर बनाउने अभियान अर्जुन जोशीबाट सम्भव छ भनेकाले म उत्साहित छु । गठबन्धनमा हामी एकअर्काले साथ दिएर अघि बढेका छौं । कुन माओवादी हो, कुन कांग्रेस हो छुट्याउन नसकिने अवस्था छ । म आफ्नो जितमा ढुक्क छु ।’



प्रतिक्रिया दिनुहोस्