Logo

बागमती प्रदेशका ३३ संघीय सिटमा एमाले ‘क्लिन स्विप’ हुन्छः रामवीर मानन्धर (भिडिओसहित)



काठमाडौं, २२ कात्तिक । पूर्वमन्त्री एवं काठमाडौं ७ का स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरले जनताले आफूलाई मात्र विश्वास गरेको दाबी गरेका छन् ।
‘काठमाडौं ७ मेरो पुस्तौंदेखिको क्षेत्र हो । यस क्षेत्रमा ३० वर्षदेखि मेरो योगदान छ । वडाध्यक्ष भएर धेरै सेवा गरें । दुई पटक सांसद भएँ । आरामले सुतेर जित्ने सिटमा एमालेले रिटायर कर्मचारीलाई टिकट दियो । उसले जित्ने कुनै सम्भावना छैन । मलाई टिकट दिएको भए उफ्रीउफ्री हिँड्दा पनि नभ्याउला जस्तो हुन्थ्यो,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मानन्धरले भने ।

स्थानीय भएकाले पनि आफ्नो जित सुनिश्चित भएको उनको भनाइ छ । मानन्धरले भने, ‘मैले एमाले छाडेको भन्दा पनि मलाई पार्टी छोडाइयो । मसँगै २९ जना उम्मेदवार छन् । तिनले यहाँको विकासमा सिन्का पनि भाँचेका छैनन् । चुनदाम पनि राखेका छैनन् । जनताले जसले राम्रो काम गर्छ, उसलाई जिताउने भनेका छन् । विगतका कामप्रति धन्यवाद दिएका छन् । त्यसकारण मैले नजित्ने कुनै कारण छैन ।’

क्षेत्रको सबैभन्दा ठूलो पार्टी कांग्रेसको उम्मेदवार नभएकाले त्यो मत आफूलाई आउने पनि उनले संकेत गरे । मानन्धरले भने, ‘मेरो लक्ष्य विकास नै हो । अधुरा योजना पूरा गर्नु छ । प्रत्येक बाटोमा पैसा राखेको छु । म ६० वर्ष पुगें । यो मेरो अन्तिम पटकको चुनाव हो । यहाँ कांग्रेसको उम्मेदवार छैन । रुख चिह्न छैन । उहाँहरुलाई मतदान गर्न मेरो घन्टाघर चिह्न छ ।’

साथै उनले बागमती प्रदेशका ३३ संघीय सिटमा एमाले क्लिन स्विप हुने दाबी गरे । मानन्धरले थपे, ‘एमालेका निम्ति २०७९ को निर्वाचन ठूलो चुनौती छ । यदाकदा झुक्किएर वा छलछाम गरेर कतै कतै दुईचार सिट बचे कुन्नि ? नत्र एमालेले सबै सिट गुमाउँछ । मैले तपाईंकै ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा स्थानीय तहमा क्लिन स्वीप हुन्छ भनेकै थिएँ ।’ साथै उनले काठमाडौं ५ मा विवादित छवि भएकाले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि चुनाव जित्न नसक्ने ठोकुवा गरे ।

आगामी निर्वाचनपछि गठबन्धनको सरकार बन्ने र त्यसमा स्वतन्त्र सांसद निर्णायक हुन सक्ने पनि मानन्धरले दाबी गरे । उनले भने, ‘यसपटक धेरै होइन, केही स्वतन्त्र उम्मेदवारले छिटफुट रुपमा जित्छन् । तर बाजी मार्ने तहको अवस्था छैन । तर जतिले जित्छन्, तिनीहरु मियो वा निर्णायक हुन सक्छ । सरकार बनाउन अपुग सिट स्वतन्त्रले पूरा गर्न सक्छन् ।’



प्रतिक्रिया दिनुहोस्