Logo

निर्वाचन सम्बन्धित सूचना प्रवाह गरिदिन व्यवसायीलाई आयोगको आग्रह



काठमाडौं, २२ कात्तिक । निर्वाचन आयोगले निजी क्षेत्रका उद्योगी/व्यवसायीहरूलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचारप्रसार एवं मतदाता शिक्षामा सहयोग गरिदिन आग्रह गरेको छ ।

आयोगको कान्तिपथस्थित कार्यालयमा ‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को सन्दर्भमा ‘निजी क्षेत्रसँग अन्तरक्रिया’ कार्यक्रम आयोजना गरेर आयोगले यस्तो आग्रह गरेको हो ।

निजी क्षेत्रका विभिन्न नेतृत्वदायी संगठन तथा व्यक्तिहरू सहभागी कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले ‘व्यवसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्रमार्फत आयोगका सूचना तथा सन्देशहरू प्रवाह गरिदिन आग्रह गरे । उनले आयोगको समाजिक सञ्जालमा आवद्ध भइ आयोगमार्फत उत्पादित मतदाता शिक्षा, आचारसंहिता पालना तथा निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देशहरू आफ्नो सांगठानिक संयन्त्र तथा सामाजिक सञ्जालमार्फत प्रवाह गरिदिएर सहयोग गरिदिन पनि आग्रह गरे ।

व्यवसायीहरूको सहयोग मुलुक र लोकतन्त्रका लागि महत्वपूर्ण हुने विश्लेषण गर्नुहुँदै उहाँले आ–आफ्नो संस्थामा कार्यरत कर्मचारीलाई मतदान गर्न पाउनेगरी सहजीकरण गरिदिनसमेत आग्रह गरे । उनले हाल देशको अर्थतन्त्र निक्कै अप्ठ्यारो स्थितिमा रहेका तथ्यहरू विश्लेषण गर्दै निर्वाचनपछि यो माहौलमा परिवर्तन आउने विश्वास व्यक्त गरे । “अहिले तरलताको अभाव, व्याजदर वृद्धि, बचत घटिरहेका जस्ता अवस्थाहरु सुनिन्छ । यसले कतै व्यवसायीहरू पलायन नै पो हुने हो कि ? भन्ने माहौल छ” थपलियाले भने, “निर्वाचनसँग पनि यसको कुनै न कुनै साइने सम्बन्ध छ । यो अप्ठ्यारो स्थितिलाई निर्वाचनपछि सहजतातिर लैजान पनि यसले सहयोग मिलोस् भन्ने हो ।”

 



प्रतिक्रिया दिनुहोस्

Screenshot