Logo

पाँचदलीय गठबन्धनले मात्र मुस्लिमका अधिकार सुनिश्चित गर्न सक्छ : नेता सतार



काठमाडौँ,२२ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले मुस्लिमका अधिकार पाँचदलीय गठबन्धनमा आबद्ध पार्टीहरुले मात्र सुनिश्चित गर्न सक्ने दाबी गरेका छन् ।

मङ्सिर ४ गतेको निर्वाचनको पूर्वसन्ध्यामा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सतारलले मुस्लिम समूदाय समक्ष आफ्नो अधिकार स्थापित गर्नका लागि पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

नेपालको संविधानले मुलुकभर छरिएका समूदाय, आदिवासी, जनजाति, मुस्लिम, दलित, अल्पसङ्ख्यक र पिछडिएको वर्गको अधिकार सुनिश्चित गरेको भए पनि अघिल्लो सरकारले मुस्लिमहरुले पाउँदै आएको राष्ट्रिय विदासमेत कटौती गरेको प्रति उनले आपत्ति प्रकट गरे ।

अघिल्लो सरकारले संविधानमाथि नै प्रहार गरी निरङ्कुश अधिनायकवाद र स्वेच्छाचारी ढङ्गले संविधान प्रदत्त अधिकार कटौती गरेकै कारण धार्मिक, सांस्कृतिक तथा संवैधानिक अधिकार सुनिश्चितताका लागि पाँचदलीय गठबन्धनको साथ आवश्यक उनको भनाइ छ ।

जनगणना(२०६८ अनुसार नेपालमा चार प्रतिशत मुस्लिम समूदाय रहेको भन्दै ण्राज्यका हरेक निकायमा मुस्लिमको समान प्रतिनिधित्व हुनुपर्नेमा उनले जोड दिए ।

नेकपा (एकीकृत) समाजवादीका तर्फबाट प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार जैनब खातुनले मुस्लिम समूदायलाई राज्यले सधैँ पछाडि पारेकै कारण अधिकार प्राप्त नभएसम्म सङ्घर्ष गरिरहनुपर्ने बताए । मुस्लिमहरुको अधिकार प्राप्तिका लागि आफू सङ्घर्षरत रहेको र संसद्मा पुगेपछि पनि मुस्लिम अधिकारका बारेमा बुलन्द आवाज उठाउने उनको भनाइ छ ।

सो अवसरमा नेकपा माओवादी (केन्द्र) गण्डकी प्रदेशसभामा समानुपातिक उम्मेदवार रहेकी जुविदा खातुनले मुस्लिम समूदायलाई राज्यका हरेक निकायमा पछाडि पारिएको दाबी गरिन् । रासस



प्रतिक्रिया दिनुहोस्