काठमाडौं, २२ कार्तिक । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धनले देशव्यापी रुपमा चुनाव जित्नेमा ढुक्क छन् । डडेल्धुराबाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको लागि उम्मेदवार रहेका देउवा यतिवेला कैलालीको धनगढीमा छन् ।
उनी गठबन्धनका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाटमा व्यस्त छन् । कांग्रेसका नेता तथा कार्यकर्ताहरुसँगको कुराकानीमा देउवाले गठबन्धनले चुनाव जित्ने भन्दै सोहीअनुसार आफ्नो भूमिकामा खरो उत्रिन भन्ने गरेका छन् ।
उम्मेदवारहरुसँग साक्षात्कारदेखि असन्तुष्ट नेताहरुसँग भेटघाटमा व्यस्त देउवा भोलि चुनावी सभालाई सम्बोधन गर्न दार्चुला पुग्ने कार्यक्रम रहेको छ । डडेल्धुरामा भने उनले त्यति दौडधुप नगर्ने बुझिएको छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली दार्चुलाको खलंगा पुगेर आक्रामक भाषण गरेका थिए ।
देउवाले भने सिमानाको विषयमा उत्तेजक भाषण गर्नुभन्दा कुटनैतिक रुपमा वार्ता गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिँदै आएका छन् । दार्चुलाबाट सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका दिलेन्द्रप्रसाद बडु उम्मेदवार छन् । देउवा र बडुबीच लामो समयदेखि घनिष्ठि सम्बन्ध छ । अहिले बडु देउवा क्याविनेटमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारीमा छन् ।