Logo

डोटी भूकम्पका सबै मृतकको सनाखत, धक्का आइरहेकाले अझै जोखिम



काठमाडौं, २३ कात्तिक । डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किँदा ६ जनाको च्यापिएर मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
भूकम्पमा परेका मृतकमा पूर्वीचौकी ३ गैरागाउँका प्रेम बोहरा, भगवती बोहरा‚ सीता बोहरा‚ हर्क बोहरा‚ धन्सरी बोहरा‚ तुलछी बोहराको सनाखत भएको छ । घाइतेहरुलाई उपचारार्थ अस्पताल लगिएको डोटीका डीएसपी भोला भट्टले बताए ।
धनगढीमा रहेका पत्रकार ऋषि धमलासँग कुरा गर्दै निवर्तमान प्रदेश सांसद एवं नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले भूकम्पका कारण ग्रामीण भेगमा माटोले बनेका दर्जनौं पुराना घरहरू भत्किएको बताए । उनले भने, ‘अरु गाउँको धनजनको क्षतिको सबै सूचना आइसकेको छैन । यहाँका धेरै घर चिराचिरा परेका छन् । आआफ्ना घर छाडेर मानिसहरु सडकमा निस्केका छन् । भूकम्पको धक्का थपिए जनता अझै जोखिममा छन् ।’

भूकम्प प्रभावित गैरागाउँमा नेपाली सेनाको भैरवप्रसाद गणबाट खटिएको टोली अन्य सुरक्षा निकाय तथा स्थानीयसँग सहकार्य गरी उद्धारमा जुटेको छ । नेपाली सेनाले हेलिकप्टरमार्फत खाद्यान्न, टेन्ट लगायतका सामग्री पुर्‍याउने जनाएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्