Logo

नेपाली कांग्रेस मेरो ‘एक्स’ हो, म धनगढीको बालेन हुँः क्षितिज भण्डारी (भिडिओसहित)



काठमाडौं, २३ कात्तिक । कैलाली ५ (ख) का स्वतन्त्र उम्मेदवार क्षितिज भण्डारीले अब प्रदेशको मुख्यमन्त्रीदेखि संघको प्रधानमन्त्रीसम्म गैरदलीय हुने दाबी गरेका छन् ।
‘क्षितिज भण्डारी पहिले कांग्रेस थियो । अहिले केरा चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएको छ । नेपाली कांग्रेस मेरो एक्स हो । अब एक्सको कुरा नगरौं, अहिलेको कुरा गरौं । तर कांग्रेसको ८० प्रतिशत भोट मलाई नै आउँछ । मान्छे स्वतन्त्र जन्मिन्छ । अब मुख्यमन्त्री मात्र होइन प्रधानमन्त्री पनि स्वतन्त्र हुन्छ । म यहाँको बालेन हुँ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भण्डारीले भने ।

आफू निर्वाचित भएपछि प्रदेश सांसदबापतको तलबभत्ता र गाडी नलिने बाचा पनि भण्डारीले गरे । उनले भने, ‘मेरा हजुरबाले धनगढीका निम्ति करोडौंको सम्पत्ति दान दिनुभएको थियो । म पनि लामो समयदेखि राजनीति र समाजसेवामै छु । म सांसद भएबापतको तलब, गाडी लिन्नँ । भ्रष्टाचार गर्दिनँ । धनगढीलाई काठमाडौं, पोखरा, धरानको तहमा ल्याउनु मेरो जिम्मेवारी हो । कोभिडमा जनताले खोज्दा नभेटिने अनि प्रदेश खारेज हुनुपर्छ भन्ने पनि चुनाव लडिरहेका छन् । भैंसाको पाडापाडी लडाएर जितिँदैन । यसपालि जित्ने मै हुँ ।’

नेपाली कांग्रेसका भातृसंगठन नेपाल विद्यार्थी संघका कार्यवाहक सभापति समेत रहिसकेका महासमिति सदस्य भण्डारीले कैलाली ५ (ख) मा गठबन्धनका आधिकारिक उम्मेदवार प्रकाशबहादुर देउवाविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot